काठमाडौं । दूरसञ्चार सेवाप्रदायकहरुले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने र अन्तर्राष्ट्रिय शुल्क घटाउन अटेर गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ६ महिनाअघि अन्तरआबद्धता निर्देशिका २००८ लाई प्रतिस्थापन गरी १० वर्षपछि उक्त नयाँ निर्देशिका पारित गरेको थियो ।
नयाँ निर्देशिकाअनुसार सेवाप्रदायकले शुल्क घटाउने आनाकानी गरेका हुन् । गत पुसमा प्राधिकरणले सेवाप्रदायकलाई इन्टरकनेक्सन निर्देशिकालाई कार्यान्वयन गर्न भन्दै पत्र पठाएको थियो । तत्काल घटाउन नसकिने बताउँदै चैतबाट शुल्क घटाउने प्रतिवद्धता जनाएका थिए । तर, चैत पहिलो साता जान लागिसक्दा प्राधिकरणमा शुल्क घटाउने कुनै जानकारी दिएका छैनन् ।
आम्दानी घटेको भन्दै सेवाप्रदायकले घटाएनन् इन्टरकनेक्सन र अन्तर्राष्ट्रिय कल शुल्क
सेवाप्रदायकले भ्वाइस तर्फको आम्दानी बर्षेनी ३ अर्ब रुपैयाँले घट्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय आगमन कल र इन्टरकनेक्नस कल शुल्क घटाउँदा टेलिकमको आम्दानीमा असर गर्ने बताउँदै आएका छन् । प्राधिकरणका एक अधिकारीले सेवाप्रदायकले चैतबाट शुल्क घटाउने प्रतिवद्धता कार्यान्वयन भइनसकेको बताए । ‘चार महिनाको समय दिइएको थियो तर घटाउने संकेत देखाएका छैनन्’ ती अधिकारीले भने ।
चैतबाट लागू हुने नयाँ निर्देशिका अनुसार ग्राहकले ग्राहकले एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा फोन गर्दा प्रतिमिनेट २० पैसा शुल्क निर्धारण गरिएको छ । यसअघि यस्तो शुल्क न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा तोकिएको थियो ।
त्यस्तै एक सेवाप्रदायकको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा फोन गर्दा भने प्रति मिनेट शुल्क १० पैसा तोकिएको छ । यसअघिको अन्तरआबद्धता गाइडलाइनले मोबाइलबाट अर्को अपरेटरको मोबाइलमा कल गर्दा अन्तरआबद्धता शुल्क ५४ पैसा तोकेको थियो ।
नयाँ शुल्क निर्धारण गदै प्राधिकरणले निर्देशिका मार्फत आगामी ८ वर्षमा अन्तरर्राष्ट्रिय आगमन कल बापत लिइने शुल्कलाई क्रमशः घटाउदै जाने योजना बताएको छ ।
प्राधिकरणले नेपालमा आउने अन्तरर्राष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट १.८ रुपैयाँमा झार्ने लक्ष्य लिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार हाल अन्तरर्राष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ तोकेका छन् ।
यो शुल्क विगत १ दशकदेखि घट्न सकेको छैन । आगामी पाँच बर्षमा उपभोक्तालाई राहत हुनेगरी अबको ५ वर्ष (विसं २०८१) मा आगमन कल शुल्क ४.४० रुपैयाँ तोक्ने छ । आठौं वर्ष (२०८४) मा सो शुल्क प्रतिमिनेट रू १.८० रुपैयाँमा झर्ने लक्ष्य छ । अन्तरआवद्धता शुल्क र अन्तर्राष्ट्रिय शुल्क घटाउनुपर्ने दूरसञ्चार विज्ञको भनाई छ ।
दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेलले अन्तर्राष्ट्रिय बजारमा यसको मुल्य धट्दै गएको अवस्थामा नेपालमा लामो समयदेखि नघटेका कारण उपभोक्त चर्को शुल्क तिर्न बाध्य रहेको बताए ।
‘यो शुल्क तत्काल घटाउनुपर्नेमा दूरसञ्चार प्राधिकरण आनाकानी गर्दै आएको छ’ उनले भने । एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोर्मा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । यसैलाई अन्तरआबद्धता शुल्क भनिन्छ ।