काठमाडौं । कोरोना भाइरस(काेभिड-१९) काे प्रभावले निर्माण अवरुद्ध भएको भन्दै निर्माणधीन जलविद्युत आयोजनाहरुले धमाधम नेपाल विद्युत प्राधिकरणमा निवेदन दिन थालेका छन् । हालसम्म निर्माणधीन डेढ दर्जन आयोजनाहरुले कोरोनाका कारण काम अघि बढाउन नसकेको जानकारी विद्युत प्राधिकरणलाई गराएका हुन ।
ती आयोजनाहरुले विद्युत उत्पादन मिति (आरसीओडी) सार्नका लागि प्राधिकरणमा निवेदन दिएका हुन । दैवी प्रकोपले गर्दा काम अवरुद्ध भएको भन्दै निर्माणधीन आयोजनाबाट धमाधम निवेदन आउन थालेको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
उनले अधिकांश निर्माणधीन आयोजनाको काम अवरुद्ध भएको बताए । आरसीओडी थप गर्नका लागि आयोजनाहरुबाट पत्र आएको उनले जानकारी दिए । दैवी प्रकोपको कारणले गर्दा काम अवरुद्ध भएकाले विद्युत प्राधिकरणले हेरेर समय थप गर्न सक्ने उनको भनाई छ ।
जलविद्युतमा कोरोनाको असरः निर्माणाधीन दर्जन बढी आयोजना ठप्प, चीनबाट सामान र बिदा मनाउन गएका कामदार आएनन्
अहिले कोरोना भाइरसका कारण आयोजनामा समस्या पर्यो र ढिलो हुने भन्दै समस्या लिएर प्रवद्र्धकहरु आउन थालेको उनको भनाई छ । कोरनाका कारण चालु अार्थिक वर्षभित्र आउने आयोजना पनि पछि धकेलिने भएका छन ।
प्रवक्ता अधिकारीका अनुसार मकरीगाड, तल्लो लिखु, मिडिल तमोर, लाङटाङखोला, गोखरेखोला, नार्मजुन मादी, बिजयपुर–२, माथिल्लो सानिगाड, माथिल्लो कलांगालगायत आयोजनाबाट निवेदन आएको बताए ।
चीनबाट फैलिएको कोरोना भाइरसको संकमणका कारण नेपालमा निर्माणधीन अधिकांश जलविद्युत आयोजना समस्यामा परेका छन । खासगरी चिनियाँ लगानी र ठेकेदार परिचालन भएका आयोजना समस्यामा परेका हुन ।
चीनबाट प्राविधिक कर्मचारी तथा कामदार नआएपछि निजी लगानीमा निर्माणधिन अधिकांश जलविद्युत आयोजना समस्यामा परेको ऊर्जा उत्पादकहरुले बताएका छन ।
चालू आवमै निर्माण सम्पन्न भइ विद्युत उत्पादन हुने १११ मेगावाटको रसुवागढी आयोजना पनि समस्या परेको छ । आयोजनामा कार्यरत प्राविधिक तथा कामदार चीनबाट नफर्किएपछि आयोजनाको बाँकी मुख्य काम अघि बढ्न सकेको छैन । यो आयोजना चिनियाँ ठेकेदारले निर्माण गरिरहेको छ ।
केही आयोजनाका लागि चीनमा टेस्ट भएका मेसिन उपकरणहरु त्यहाँका उद्योग बन्द भएसँगै ल्याउन नसकिएको निजी ऊर्जा उत्पादकहरु बताउँछन । निर्माण सामग्री ल्याउन चीनसँग जोडिएका उत्तरी नाका दुवै नाका अहिले बन्द छन । उता, चीनमा त्यस्ता मेसिन उत्पादक कम्पनी, उद्योग र कार्यालय अहिले बन्द छन ।
अहिले त त्यो मात्रै टेस्टिङ भइसकेको सामान पनि कारखाना तथा उद्योग बन्द हुँदा समस्या छ । त्यहाँबाट ‘डिसप्याच’ गरेर नेपाल पठाउन नसकिएको भन्दै समस्या पनि छ ।
साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियाे । तर, सवैभन्दा ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी जलविद्युत लगायतका आयोजना नआउने भएपछि प्राधिकरणले ३८७ मेगावाट मात्रै विद्युत उत्पादन हुने अर्को लक्ष्य लियो । त्यो लक्ष्य पनि पूरा हुन हुनेमा आशंका रहेको अधिकारी बताउँछन् ।
कोरोनाकै कारणले निर्माणधीन आयोजना सम्पन्न हुन नसक्दा प्राधिकरणको लक्ष्यमा समेत ठूलो धक्का लाग्ने देखिन्छ ।