काठमाडौं । १३ महिना अघिबाट बन्द मलेसियाको रोजगारी खुल्ने अझै निश्चित छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संसदमा केही समयभित्रै मलेसियाको रोजगारी खुल्ने पटक पटक आश्वासन दिए पनि खुलाउन कुनै पहल भएको छैन ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनबीच असार ३ गते स्विट्जरल्यान्डमा भएको भेटमा १ महिनाभित्र प्राविधिक समितिको बैठक बस्ने सहमति भएको थियोे । तर, भेट भएको २१ दिन बितिसक्दासमेत बैठकका लागि ठाउँ र मिति टुङ्गो लाग्न सकेको छैन ।
श्रमसचिव दाहालले नेपालका तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिससकेको जानकारी दिँदै मलेसियाले मिति तय नगरेको बताए । उनले मलेसियाले मिति तय गर्नेबित्तिकै दुईपक्षीय बैठक बसेर रोजगारी खुलाउने विषयमा सहमति हुने जानकारी दिए । दुईपक्षीय सहमतिअनुसार बस्ने भनिएको बैठकको समय निर्धारण नहुँदा समस्या भएको उनको भनाइ छ ।
मन्त्रालयले केही दिनअघि मात्र मेलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन इच्छुक स्वास्थ्य संस्थाहरुको नाम सार्वजनिक गरेको थियो । श्रम मन्त्रालयका अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको टुङ्गो लाग्नेबित्तिकै रोजगारी खुल्ने बताउँदै आएका थिए ।
मलेसियाको रोजगारी नखुलेको भन्दै आफ्नो तीव्र आलोचना हुन थालेपछि मन्त्री विष्टले संसदमा केही दिनभित्रै रोजगारी खुल्ने बताउँदै आएका छन् । तर, यही दिनबाट खुल्छ भन्न उनले पनि सकेका छैनन् ।
नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन ।
श्रम सम्झदारी भएको ८ महिना बितिसक्दासमेत नेपालबाट कामदार नपठाएपछि मलेसियाले विकल्पका रुपमा बङ्गलादेशलाई लिन थालेको छ । मलेसियाले बङ्गलादेशबाट कामदार लिन बन्द गरेर नेपालबाट लिने गरेको थियो ।
आगामी अगष्टभित्रै बङ्गलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाले तयारी गरेको छ ।
मलेसियाली विदेशमन्त्री साइफुद्दीनले बङ्गलादेशी कामदारका लागि गत वर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्टभित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उद्धृत गर्दै बङ्गलादेशका सञ्चारमाध्यमले भनेका छन् ।
बङ्गलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिकस्तरबाटै पटक पटक आग्रह गरे पनि मलेसियाले भने उसका कामदार लिन इच्छा देखाएको थिएन । तर, मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघि सरेको हो । मलेसियाले बङ्गलादेशी कामदार लिन सुरु ग¥यो भने नेपालीले पाउँदै आएको कोटा काटिने निश्चित छ ।