काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्ध मिलेर लड्नुपर्ने सार्क राष्ट्रका नेताहरु घोषणा गरेका छन् । आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगुवाई भएकोे कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रका प्रमुख तथा सरकारका प्रमुखसँगको भिडियो कन्फ्रेन्समा सार्क राष्ट्रका नेताहरु यस्तो घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध ठोस रणनीति बनाएर संयुक्त रुपमा लड्नुपर्ने सन्देश दिए । त्यस्तै, कोरोना विरुद्ध बच्न र उपकरण खरिद गर्न आपतकालीन कोष खडा गर्ने बताए । कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने मोदीले घोषणा गरे ।
त्यस्तैगरी, सार्क देशहरुबीच कोरोना विरुद्ध र सचेतना जगाउन विभिन्न साझा सफ्टवेयर तथा अनलाइन तालिम बनाउनुपर्ने प्रस्ताव मोदीले गरेका छन् ।
भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा जाफर मिर्जाले कोरोना विरुद्ध सर्तकता अपनाउन जरुरी रहेको बताए । त्यसका लागि कोरोनाविरुद्ध अभियान चलाउन गइरहेको उनले बताए । पाकिस्तानमा कोरोना निकै आपतकालीन समस्याका रुपमा देखिएको मिर्जाको भनाइ थियो । उनले कोरोनाविरुद्ध सवै मिलेर लड्नुपर्ने जरुरी रहेको बताए ।
सार्क राष्ट्रमध्ये पाकिस्तानमा पनि जनसंख्या बढी छ । कोरोनाविरुद्ध पाकिस्तानले ३ ओटा विमानस्थलबाट विदेशीको आवागमनमा रोक लगाएको छ भने भीडभाड र ठूला समारोह नगर्ने घोषणा गरेको छ ।
अफगानस्तानका राष्ट्रपति अश्रफ घनीले कोभिड १९ बाट बच्न टेलिमेडिसिनका लागि साझा ढाँचा र सार्क राष्ट्र सदस्य मुलुकबीच आवश्यक वस्तुको प्रवाह तथा अन्य कुराका बीचमा पनि सुनिश्चित गर्न संयन्त्र बनाउनुपर्ने बताए । भारतले जस्तै स्वास्थ्य कार्यक्रम कसरी अघि बढाउने भनेर सिक्न जरुरी रहेको उनले बताए । अफगानी युवा तथा महिलालाइ कोरोनाको संकमणबाट जोगाउन र सामाजिक दुरी सुनिश्चित गर्न स्याटेलाइट उपलव्ध गराउन भारतसमक्ष घानीले प्रस्ताव गरेका छन् ।
माल्दिभ्सका राष्टपति अब्राहिम मोहमेद सोलिहले आफ्नो देशमा कोरोना भाइरस डरलाग्दो रुपमा फैलिएको बताए । तर, संकमण देखिएपनि मृत्युको संख्या भने न्युन रहेको बताए । जनवरीदेखि नै माल्दिभ्सले कोरोनाविरुद्ध सर्तक हुँदै केही स्टेप चालिसकेको छ । भाइरसबाट बच्न उपचार र क्वारेन्टाइनको व्यवस्था र तयारी गरेको उनले बताए ।
हरेक वर्ष माल्दिभ्समा हजारौं पर्यटक घुम्न आउने भएकाले पनि कोरोनाविरुद्ध पूर्वसावधानी हुनु नै अहिलेकोे मुख्य प्राथमिकता रहेको उनले बताए । उनले हेल्थकेयर जनशक्ति, डाक्टर तथा स्वास्थ्य केन्द्रको संरचनाको भने केही अभाव रहेको उनले सुनाए । त्यसका लागि सदस्य राष्ट्र सँग सहयोगको प्रस्ताव गरे ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेपनि हालसम्म कसैलाइ पनि नदेखिएको बताए । कोरोनाको संकमण नियन्त्रण गर्न निजी क्षेत्र र सरकारले पनि पूर्वसावधानी लगायतको तयारी तीव्र पारेको बताए ।