बीबीसी । युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोना भाइरस महामारी अझ फैलिन नदिन प्रतिबन्धहरू लागु गरेका छन्।
स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड१९ बाट मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ।महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ।
फ्रान्समा ९१ जनाको मृत्यु भएको छ। त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन्।
इटलीमा १ हजार ४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सोमवारदेखि त्यहाँ देशव्यापी बन्द लागु गरिएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।
यूकेमा २४ घण्टामा मृत्यु हुने मानिसको सङ्ख्या दोबर भएको छ। अहिलेसम्म त्यहाँ २० जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुई सय जनाभन्दा बढी वैज्ञानिकहरूले सरकारलाई महामारी नियन्त्रण गर्न कडा उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको चीनमा स्थानीय मानिसमा भन्दा बाहिरबाट आउने मानिसमा सङ्क्रमण बढी देखिन थालेको छ।
यस्तै अमेरिकाले कोरनासग जुध्नलाई संकटकाल घोषणाका साथै ५० अर्ब डलर खर्च गर्ने योजना सारेको छ ।