केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता (आफ्टा) को घोषणा अफ्रिकी जनताका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
नाइजरको नियामेमा सम्पन्न अफ्रिकी युनियनको बैठकमा सहभागी भएर केपटाउन पुगेका राष्ट्रपति रामाफोसाले पछिल्लो सम्झौताले अफ्रिकी मुलुकहरुको अर्थतन्त्रलाई नयाँ स्वरुप र प्रगतिपथमा लैजाने विश्वास व्यक्त गरे ।
उनले भने, यो व्यापार सम्झौता अफ्रिकाका लागि कोशेढुंगा हो र ६० वर्षअघि अफ्रिकी युनियनको स्थापना गर्दा त्यसका संस्थापकहरुको साझा सोचको परिणामस्वरुप यो उपलब्धी भएको हो ।
राष्ट्रपति रामाफोसाले अफ्रिकाका पूर्व नेताहरुले अफ्रिकालाई एकताबद्ध गराउन यो अवधारणा ल्याएको पनि बताए ।
नाइजरमा भएको अफ्रिकी युनियनको बैठकमा आफ्टा कार्यान्वयनमा सम्झौता भएको थियो । यो सम्झौतापछि अफ्रिकाको आन्तरिक बजार सबै अफ्रिकी मुलुकका लागि खुला हुनेछ ।
यो सम्झौताबाट अफ्रिकाका ठूला अर्थतन्त्र भएका मुलुकहरु दक्षिण अफ्रिका, नाइजेरिया र केन्याजस्ता मुलुकले धेरै फाइदा लिन सक्नेछन् । अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र विश्वकै सबैभन्दा ठूलो र करिब ३२ खर्ब अमेरिकी डलरको कूल गार्हस्थ्य उत्पादन भएको क्षेत्र हुनेछ ।
यस सम्झौताले अफ्रिकामा बसोबास गर्ने झण्डै एक अर्ब २० करोड मानिसलाई प्रभावित तुल्याउनेछ ।
आफ्टा सम्झौताबाट अफ्रिकी महादेशमा बस्तु तथा सेवाको प्रवाह र व्यापारमा सहजता आउनेछ । खासगरी अफ्रिकामा उत्पादित बस्तु तथा सेवालाई स्वतन्त्र व्यापारमा समावेश गरिने बताइएको छ ।
सम्झौताको पूर्ण कार्यान्वयन भएमा सन् २०२२ सम्म अफ्रिकी व्यापारमा ५० प्रतिशतभन्दा बढीले वृद्धि हुने अफ्रिकी युनियनको अनुमान छ । रासस/एएफपी