काठमाडौ । काठमाडौं उपत्यकामा बषौंदेखि सञ्चालन हुँदै आएका ट्याक्सी व्यवसायीको एकाधिकार तोड्दै करिब तीन बर्ष अगाडी नेपालमा राइड सेयरिङ एप सञ्चालनमा आयो । प्रविधिको प्रयोग मार्फत राइडिङ सेयरिङ गर्न सकिने एपबाट सञ्चालित यस्तो व्यवसायले सजिलै उपत्याकाबासीलाई आकर्षित गर्न थाल्यो ।
सहज, भरपर्दो, सस्तो तथा ठगिने चिन्ताबाट मुक्त हुने बिशेषताका कारण पनि धेरैको रोजाईमा यस्तो सेवा परेको हो । निजी दूइ पाङ्ग्रे सवारी सधानमार्फत ग्राहकलाई गन्तब्यसम्म पुर्याउने राइड सेयरिङ् सेवा काठमाडौंका सार्वजनिक बस तथा ट्याक्सीभन्दा समय र लागतको हिसाबले पनि निकै लाभकारी हुन थाल्यो ।
सार्वजनिक यातायातमा घण्टौमा पुगिने गन्तब्यमा टुटल/पठाओ जस्ता राइडिङ सेयर सेवा मार्फत १०÷१५ मिनेटमै पुग्न सकिने भयो । सोहि कारण सञ्चालनमा आएको छोटो समयमा नै यो व्यवसायले ठूलो चर्चा पायो । ट्याक्सीको ठगिने तथा भनेको स्थानमा जान नमान्ने सेवाबाट हैरान भएका उपभोक्तालाई टुटल/पठाओ उपयुक्त बिकल्प पनि भयो ।
यात्रुहरुले पठाओ/टुटललाई माया गर्न थालेपछि सबैभन्दा मर्कामा ट्याक्सी व्यवसायी परेका छन् । सोहि कारण पछिल्लो तीन बर्षमा ट्याक्सी चालकहरुले पटक पटक आन्दोलन गर्दै पठाओ/टुटल बन्द गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर, उपभोक्ताको साथमा सरकारले पनि सहमति जनाउँदा ट्याक्सी चालकको आन्दोलन हरेक पटक असफल हुदै आएको छ ।
पछिल्लो पटक फेरि गत मंगलबार यातायात व्यवस्था विभागले ट्याक्सी चालनको दवावमा परेर टुटल पठाओ बन्द गर्न निर्देशन दिएपछि सेवाग्राहीले सामाजिक सञ्जाललगायतका माध्यमबाट चर्को विरोध समेत गरे । टुटल/पठाओ जस्ता व्यवसायले हजारौलाई राजगारी पनि प्रदान गरिरहेकोले तत्काल सेवा बन्द गर्नुभन्दा पनि नियमनमा ल्याउनुपर्ने अधिकांशले सुझाव दिएका छन् ।
सेवामा जोडिएका चालकहरुले मासिक ५० हजारसम्म कमाई गरिरहेको टुटलका सस्थापक शिक्षित भट्टले बताउँछन् । उनी भन्छन् ‘ट्याक्सी भन्दा सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा पनि यस्तो प्रचलन रहेको कारण नेपालमा पनि सबैको रोजाइमा परेको हो ।’ उपत्यकामा ट्याक्सी चालकको एकाधिकार रहेको बेलामा टुटल÷पठाओ बिकल्पका रुपमा आएको कारण ट्याक्सी व्यवसायी अन्दोलनमा उत्रिएको उनको भनाई छ ।
बिगतमा पनि ट्याक्सी व्यवसायीले आन्दोलमा यातायात व्यवस्था विभाग तथा मन्त्रालयले सिन साथ दिएर राइड सेयरिङ बन्द गर्न खोजेका थिए । तर, प्रधानमन्त्री केपीशर्मा ओलीको ठाडो निर्देशनले सफल भएन । पाटन अदालतको पनि आदेश अनुसार व्यवसायलाई नियामन गर्न संघीय सवारी तथा यातायात व्यस्था ऐनको मस्यौदा बनिसकेको छ ।
यतिबेला ट्याक्सी व्यवसायीहरु भने विभागिय मन्त्रीसँग टुटल÷पठाओ जसरी पनि बन्दा गराउनु पर्छ भन्नै दबाब दिइरहेका छन् । बुधबार ट्याक्सी व्यवसायीसँग भएका छलफलमा पनि यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्ले नियमनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बिलिङ प्रणालि र मिटरमा जान अटेरी
सरकारले ट्याक्सी चालकलाई पटक पटक विलिङ् प्रणालि जडान गरी मिटरमा सञ्चालन गर्न निर्देशन दिदाँ पनि अवज्ञा गर्दै आएका छन् । २०७५ सालमा गुणस्तर तथा नाप तौल विभागले उपत्यकामा चल्ने सबै ट्याक्सीमा बिल प्रिन्टिङ मेसिन जडान गर्यो तर अहिले ती अधिकांश मेशिन बिगारेर राखेका छन् ।
त्यपछि नाप तौल विभागले यसमा कुनै अनुगमन गरेको छैन् । ट्याक्सी चालकहरु उल्टै मन्त्रीसँग बैज्ञानिक भाडा समायोजनको माग राख्दै आक्रोश पोखिरहेका छन् । यस कारण पनि ग्राहकले टुटल–पठाओ रोजाइमा परेको छ ।