काठमाडौं । राइड सेयरिङ बिजनेश गरिरहेका टुटल, पठाओ बन्द गराउँन ट्याक्सी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमारलाई दबाब दिन शुरु गरेका छन् ।
निजि प्रयोजनका सवारीसाधनले भाडामा यात्रु ओसारपसार गर्न नपाउँने भन्दै ट्याक्सी व्यवसायीले मंगलबार साझ यातायात व्यवस्था विभागमा ट्याक्सी तेस्र्याएर धर्ना दिएका थिए । मंगलबार धर्ना बसेसँगै टुटल, पठायो सेवा बन्द गराउन बुधबार यातायात मन्त्री नेम्वाङसँग ट्याक्सी व्यवसायीले दिउसो ३ बजे भेट्ने तय भएको छ ।
यस अघि पनि उपत्यका ट्याक्सी व्यवसायी महासंघले पाटन उच्च अदालतमा टुटल, पठाओ बन्द गर्नुपर्ने भन्दै रिट दर्ता गराएका थिए । त्यसमा उच्च अदालतले कानुनी दायरामा ल्याएर अघि बढ्न र तत्काल सञ्चालनमा रोक नलगाउँन आदेश दिइसकेको छ । तर, मंगलबार व्यवसायीहरु धर्ना बसेपछि यातायात विभागले निजि भाडाका सवारी आफुखुसी भाडा तोकि यातायात व्यवस्था ऐनको दफा १२ को उपदफा १ अनुसार तत्काल सञ्चालन नर्गन एक सूचना जारी गरेको छ ।
सूचनासँगै विभागले अनुगमन तथा कारर्वाही प्रक्रियापनि अगाडी बढाउने जनाएको छ । व्यवसायी भने सूचना जारी गरेरमात्रै नहुने बताउँदै आएका छन् ।
उपत्यका ट्याक्सी व्यवसायी संघका एक सदस्यले मन्त्रीसँग छलफल गर्न एजेण्डा तयार गरिरहेको बताए । उनका अनुसार निजि प्रयोजनको गाडी भाडामा सञ्चालन गर्दा ट्याक्सी व्यवसायीको रोजिरोटी खोसिएिकोले यस्तो सेवा बन्द गराउन मन्त्रीसँग आग्रह गर्ने भएका छन् । उनले भने ‘यातायात ऐन अनुसार निजी सवारी भाडामा प्रयोग रोक नगरेसम्म आन्दोलन जारी रहन छ ।’
तर, टुटलका संस्थापक शिक्षित भट्टले यातायात विभागले जारी गरेको सूचना आफूलाई थाहा नभएको बताए । ‘हामिले सवारी सञ्चालन रोकिसकेका छैनौं’ उनले भने । यातायात विभागका महानिर्देशक गगन कुमार हमालले विवादलाई समाधन गदैँ अगाडी बढ्ने बताए । यो सँगै ट्याक्सी व्यवसायी र टुटल पठाओ विवाद अझै पेचिलो बन्दै गएको छ ।