काठमाडौं । २०७६ साउनमा दोर्दीखोलामा आएको बाढीका कारण ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना सम्पन्न हुने मिति एक बर्ष धकेलिएको छ । बाढीले आयोजनाको हेडवक्र्स र ड्यामसाइड भत्क्याइदिएपछि पुनः डिजाइन गरेर निर्माण अघि बढाउनुपर्दा आयोजना एकवर्ष ढिला हुन पुगेको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए ।
फागुन दोस्रो हप्तादेखि पुनः डिजाइन सम्पन्न गरी पुनः तीव्रताका साथ आयोजनाको काम अघि बढाएको उनले बताए । ‘आउँदो बर्षायामसम्म हेडवक्र्सको काम सकिँदैन । अर्को ८÷९ महिना बाढीका कारणले लम्बिने देखिन्छ’ उनले भने, ‘आउँदो असारमसान्तभित्रै व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । बाढीका कारणले एकवर्ष ढिला हुन गयो । २०७७ फागुनसम्म सम्पन्न गर्ने भनेर लागिरहेका छौं ।’
अहिले आयोजनाको मुख्य सुरुङमार्गको काम ७५ प्रतिशत सम्पन्न भएको छ । मुख्य सुरुङ निर्माणको काम ४÷५ महिनाभित्र सकिने आयोजना पक्षको दाबी छ । कुल ४ सय ६३ मिटर लामो ठाडो सुरुङमध्ये २ सय ३५ मिटर खन्न बाँकी छ । २ सय २८ मिटरको भर्टिकल सुरुङको ब्रेक थु्र भइसकेको छ । ५० मिटरको कर्भ साफ्ट पनि सम्पन्न भएको छ । त्यस्तै, हेडरेस सुरुङमार्गतर्फ ८० प्रतिशत काम सम्पन्न भएको छ ।
हालसम्म आयोजनाको समग्र प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ । यो आयोजना जमिनभित्रै सुरुङमार्ग बनाएर बिजुली उत्पादन गरिने हो ।
आयोजना स्थलसम्म पुग्ने बाटो, क्याम्प हाउसलगायत अन्य सिभिलतर्फका काम सम्पन्न भएका छन् । २०७१ मा आयोजनाले निर्माणको अनुमति पाएको थियो । ३ वर्षमा सम्पन्न गर्नुपर्ने लक्ष्य लिए पनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिन पुग्यो ।
कुल ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैङ्कको अगुवाइमा ९ ओटा बैङ्क ५ अर्ब ८० करोड रुपैयाँ लगानी छ । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण ठेक्का पाएको उक्त आयोजना निर्माण गर्न बाँध, सुरुङ र विद्युत्गृह निर्माण गर्न छुट्टाछुट्टै ठेकेदार कम्पनी छन् । आयोजनाको बाँध र टनेल निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युत्गृह हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् ।
४९ दशमलव ६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि भई ५४ मेगावाट पुगेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी मध्य मस्र्याङ्दी—भरतपुर प्रसारण लाइनमा जोडिनेछ । अहिले उक्त प्रसारण लाइनको काम पनि धमाधम भइरहेको छ ।