काठमाडौं । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको निजी क्षेत्रसँग अर्थमन्त्री डा.युवराज खतिवडा पहिलो कार्यकालमा नजिक हुन सकेनन् ।
अर्थतन्त्रका ज्ञाताको रुपमा आफूलाई उभ्याएका अर्थमन्त्री खतिवडाले पहिलो कार्यकालमा निजी क्षेत्रलाई दूरीमै राख्न प्रयत्न गरे । उद्योगीका पिर मर्का सुन्नै नचाहने अर्थमन्त्री खतिवडाले दोस्रो कार्यकालको पहिलो दिन पदभार सम्हाल्दै भने, ‘निजी क्षेत्रसँग बढेको दूरी घटाउँछु, र मिडियासँग सुमधुर सम्बन्ध कायम राख्छु ।’
साढे दुई वर्ष अर्थमन्त्रीको पद सम्हालेका खतिवडालाई दोस्रो कार्यकालको पहिलो दिन निजी क्षेत्र र मिडियासँग सम्बन्ध बिग्रिएको महशुस भएको छ । उनले पदभार सम्हाले पछि आफ्ना कर्मचारीलाई निर्देशन दिँदै भने ‘मेरो पहिलो काम भनेको उद्योगीसँग बिग्रिएको सम्बन्ध सुधार गर्नु हो । अर्थतन्त्र सुधार गर्नु मेरो प्राथमिकता भित्र छँदै छ, त्यसबाहेक निजी क्षेत्र र मिडियालाई विश्वासमा लिनु अर्को मुख्य काम हो ।’
उद्योगी र मिडियाप्रति निकै रुष्ट बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालमा उद्योगी र मिडियासँग सुमधूर सम्बन्ध कायम राख्न पर्यत्न गर्ने भएका छन् ।
यसको मतलब उनले मिडिया र उद्योगी÷व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छन् । उनले दोस्रो कार्यकालको पहिलो दिन दिएको सन्देश पनि यही हो ।
सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई भेटाउन सहयोग गर्ने निजी क्षेत्र अर्थमन्त्री खतिवडासँग विच्किएपछि उनले आफ्नो बोली फेर्ने भएका छन् । उनले कर्मचारीसँग कुरा गर्दै भने, ‘निजी क्षेत्रसँग मिलेर जाने र उनीहरुलाई विश्वासमा लिएर अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यकता भएको छ ।’
मिडिया र उद्योगीमाथि जहिले नकरात्मक भाव राख्ने अर्थमन्त्रीको बोली एकाएक फेरिएको छ । यस अघि व्यवसायीसँग नकारात्मक रहेका अर्थमन्त्री खतिवडासमक्ष उद्योगीले आफ्ना समस्या समेत राख्न नसक्ने वातावरण बनेको थियो । उद्योगीलाई भेट््न समेत समय दिँदैनथे अर्थमन्त्री खतिवडा ।
बोलीमा जहिले पनि सरकार निजी क्षेत्रको पहरेदार हो भन्दै हिड्ने खतिवडाले व्यवहारमा कहिल्यै उतारेनन् । सरकार लगानीको वातावरण बनाउन अहोरात्र खटेको बताउँदै हिड्ने अर्थमन्त्री खतिवडाले व्यवसायीका वास्तविक समस्या बारेमा सुन्न समेत चाहेनन् ।
अर्थमन्त्री खतिवडाको नकरात्मक सोचाईकै कारण निजी क्षेत्रले पनि विस्तारै लगानी घटाउँदै लैजाने, क्षमता विस्तार नगर्ने गरिरहेका छन् । ‘कानुनी जटिलताका बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनका लागि समय लिन समेत सकिएन्,’ एक उद्योगीले भने, ‘बल्ल बल्ल समय मिलिहाल्यो भने पनि हाम्रो कुरा सुन्ने अर्थमन्त्री खतिवडासँग समय हुँदैनथ्यो ।’