काठमाडौं । चिनियाँ कम्पनीको वर्चस्व रहेको दूरसञ्चार क्षेत्रका अबौंका परियोजना पनि कोरना भइरसको कारण प्रभावित हुने देखिएको छ । चिनियाँ कम्पनीले ठेक्का पाएका अप्टिकल फाइबर व्याकबोन नेटवर्क, फोरजी, ब्रोडव्यानड इन्टरनेटलगायतका परियोजना कोरोनाका कारण प्रभावित भएको हो ।
बिशेषगरी नेपाल टेलिकमका अधिकांश परियोजना कोरोनो भाइसरका कारण पछि ढकेलिने भएको छ । २०७५ माघ २० गते टेलिकमले देशभर फोरजी सेवा पुर्याउने महत्वकांक्षी योजना अघि बढाएको थियो । काम अघि बढाएसँगै टेलिकमले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको थियो । दुई कम्पनीसँग करिब १९ अर्ब लगानीमा एक बर्ष भित्र देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो ।
टेलिकमका अनुसार फोरजीको केहि सामान आयात भइसकेको कारण तत्काल काम ठप्प भइसकेको छैन तर लामो समय यहि अवस्था हुने हो भने परियोजनाको काम बन्द हुन सक्छ । त्यस्तै मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर विस्तार गर्ने आयोजनामा पनि चिनियाँ कम्पनीको नै दबदबा छ ।
दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम अप्टिकल फाइबर विस्तारमा प्रयोग गर्न टेलिकम मार्फत चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ । प्राधिकरणले मध्यपहाडी लोकमार्गमा पुरै फाइबर बिछ्याउने योजना अन्तर्गत झण्डै १० अर्ब रकम खर्च गर्ने भएको हो । तर, ठेक्का अनुसार चिनियाँ कम्पनीले काम गर्न सकेको छैन् ।
सातै प्रदेशमा फाइबर विस्तार गर्न ३ खण्ड विभाजन गरि काम अगाडी बढाइएको परियोजनाको प्रदेश १, २, ३ ,५ र ६ मा नेपाल टेलिकम र प्रदेश ४,५ मा यूटीएलले जिम्मेवारी पाएका छन् । तर, प्रगति भने शुन्य जस्तै छ ।
नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले चीन तर्फका सबै भन्सार नाका बन्द रहेका कारण सामान आयात हुन नसकेका बताए । भण्डारीले एफटीटीएच र ग्रामिण दूरसञ्चार परियोजनाको सामान रोकिएपनि काम नरोकिएको बताए । तर, काम अवस्था यस्तै रहे परियोजनाको काम थप ढिलाई हुने उनको भनाई छ ।
‘अहिले आयात बन्द भएपनि डेढ महिना अघि आयात भएका सामानबाट काम भइरहेको छ’ उनले भने ‘फोरजीमा प्रभाव परेको छैन तर चीनबाट आउँनुपर्ने २० जना कामदार उतै रोकिएर बसेका छन्’ । यसरी कोरोनाकै कारण टेलिकमका करिब २८ अर्बका प्रोजेक्ट प्रभावित भएका छन् ।