काठमाडौं । उपेन्द्र महतो, नेपालको धनाढ्य सूचीमा आउने नाम हो । नेपाल र रुसमा दर्जन बढी व्यवसाय गरिरहेका गैरआवासिय नेपाली महतो पछिल्लो पटक नेपाल केन्द्रित व्यवसायमा तल्लिन छन् ।
बैंक, जलविद्युत , अस्पताल, टेलिकमलगायतको व्यवसायमा लगानी रहेका महतोले पछिल्लो पटक नेपालका चार व्यापारिक समूहको ६५ करोड रुपैयाँ तिर्नका लागि २ वर्षभन्दा बढी समय लगाएका छन् । यूटीएल खरिद बिक्रीका लागि महतोले लिएको ६५ करोड रुपैयाँ चार व्यावसायिक समूहले पटक पटक ताकेता गर्दा पनि उनले तिरिरहेका छैनन् । के महतो वित्तिय संकटमा छन् ?
महतोनिकट एक मारवाडी व्यवसायी भन्छन्, ‘उहाँलाई पछिल्लो पटक थोरै समस्या देखिएको छ तर संकट नै परेको चाँही होइन ।’
लगानी, पूर्वाधार र क्षेत्रफलको हिसाबले निजी क्षेत्रको सबैभन्दा ठूलो मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएपछि महतोको वित्तीय अवस्था डगमगाउन थालेको ती व्यवसायी बताउँछन् । स्रोत भन्छ्, ‘मेडिसिटी अस्पतालमा महतोलाई मासिक ५ करोड रूपैयाँ घाटा छ ।’
महतोले मेडिसिटी अस्पतालमा ८ अर्ब रूपैयाँ बढी लगानी गरेका छन् । अस्पतालकै कारण उनी अहिले वित्तिय अवस्थामा अलि कमजोर देखिएको उनी निकट एक व्यवसायीले बताए ।
महतोले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को खरिदबिक्री डिलको सम्झौता रकम लिएपछि त्यो फिर्ता गर्न दुई वर्ष समय लगाइरहेकै समयमा दुई कम्पनीको सेयरसमेत बेचे ।
महतोले पतञ्जली आयुर्वेद नेपाल र सानिमा बैंकको परिवारमा रहेको सेयर बिक्री गरेका हुन् । पतञ्जलीमा रहेको महतोको श्रीमती समताको नाममा रहेको ९० प्रतिशत सेयर उनले २८ करोड रूपैयाँ भन्दा बढीमा भारतीय कम्पनीलाई नै बिक्री गरेका थिए । कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ थियो ।
त्यस्तै महतोको भाई वीरेन्द्र महतोको नाममा रहेको सानिमा बैंकको संस्थापक सेयर पनि महतोले बिक्री गरे । सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता सेयर करिब ४९ करोड रुपैयाँमा बिक्री गरिएको थियो । उनकाे सेयर कर्मचारी सञ्चय कोषले किनेको थियो ।
के थियो ‘यूटीएल डिल’ ?
यूटीएललाई खरिद गर्न नेपालका चार व्यापारिक समूह विशाल ग्रुप , जावलाखेल ग्रुप (डिस्टिलरी), ज्योती ग्रुप , र आइएमएस ग्रुपले महतोको कम्पनी नेपाल भेन्चर्स प्राली (एनभीपीएल) लाई ६५ करोड रूपैयाँ दिएका थिए । यूटिएल नेपालबाट बाहिरिने रणनीतिअनुसार महतोको योजनाअनुसार नै भारतीय कम्पनीको सेयर नेपाली व्यवसायीले खरिद गर्नका लागि सुरुमा ६५ करोड ४ समूहले बुझाएको थियो ।
यूटिएलको मूल्याँकन १७ अर्ब रूपैयाँ गरिएको थियो । सोहिअनुसार सम्झौताका लागि ६५ करोड रूपैयाँ बुझाएको थियो । रकम बुझाएको एक वर्षपछि पनि सेयर हस्तान्तरण हुन नसकेपछि खरिदबिक्रीको डिल भंग भएको थियो ।
यूटिएलको ४५ प्रतिशत सेयर चार समूह र २० प्रतिशत सेयर होल्ड गर्ने महतोले भारतीय सेयर होल्डरको सबै सेयर लिने तयारी थियो । ४ ग्रुपमा विशालले १५, आइएमएसले १५, जावलाखेलले १० र ज्योतीले ५ प्रतिशत सेयर लिने सहमति भएको थियो ।
गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्षसमेत रहेका महतोले यूटीएलको विषयमा अहिले कुनै निर्णय नभएको र प्रक्रियामा नै रहेको बताए । ‘खरिदबिक्रीको विषयमा नयाँ निर्णय भएको छैन तर प्रक्रियामा छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिदैं भने ।
यूटिएलमा भारत सरकारको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेशन कन्सल्ट्यान्टस् इन्डिया लिमिटिेडको २६.६६ प्रतिशत र भारतीय कम्पनी टाटा कम्युनिकेशसन्स् लिमिटेडको २६.६६ प्रतिशत लगानी रहेको छ ।
नेपालमा १८ वर्षअघि स्थापना भएको यूटीएल सुरुदेखि नै घाटामा रहँदै आएको छ । तीन वर्षअघि दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र लिए पनि सेवा सञ्चालन गरेको छैन । यूटीएलले नेपाल दूरसञ्चार प्राधिकरणलाई १ अर्ब ६१ करोड रूपैयाँ भन्दा बढी बक्यौता बुझाउन बाँकी छ ।