काठमाडौं । बिहीबार न्युरोड पुग्दा केही कपडा व्यापारी फुर्सदमा देखिन्थे । उनीहरुले आफ्नो मोवाइलमै ‘पोर्ट’ गेम खेल्नमै रुची देखाइरहेका देखिन्थे ।
कारण, गर्मी सिजन सुरु भएसँगै बाक्ला लुगा नबिक्नु र पातला नयाँ लुगा बजारमा नआउनु । यसकारणले पनि उनीहरु फुर्सदिला देखिएका थिए । त्यतिमात्रै होइन्, केहीले व्यापार चौपट हुन पुगेको गुनासो गर्दै थिए ।
नेपाली बजारमा आवश्यक लुगाहरु अधिकांश चीनबाट आउने गर्छन् । तर,पछिल्लो पटक महामारीका रुपमा चीनबाट फैलिएको कोरोना भाइरस संकमणका कारण छिमेकी देशसँग जाडिने उत्तरी दुवै नाका बन्द गरिएको छ । चीनिँया कपडा उद्योग तथा बजार पनि बन्द हुँदा नेपाली बजारमा गर्मीयाममा लगाउने पातला लुगा आयात हुन नसकेको व्यापारी बताउँछन् ।
कोरोनाकै असरले नयाँ कपडा बजारमा नआउँदा सबै व्यापार ठप्प हुन पुगेको न्युरोडस्थित रन्जना मलका होलसेल कपडा व्यापारी लक्ष्मण भण्डारीले बताउँछन् । ‘गर्मीको व्यापारलाई लक्षित गरी ठूला होलसेल व्यापारीले करोडौंको कपडा अर्डर गरेका थिए ।
तर, महिना दिन अघिनै आइपुग्नुपर्ने कपडा अझै आउन सकेन्’ उनले थपे, ‘चीनमा कोरोना फैलिएसँगै सामान कहिले आउँछ । अहिले नै भन्न सक्ने अवस्था छैैन । पुराना कपडाको स्टक छ । व्यापार छैन् ।’
कपडा व्यापारीले मौसमअनुसार कपडाको व्यापार गर्ने गर्छन् । यता, सिजनअनुसार कपडा किन्ने प्रवृत्ति ग्राहकको छ । अहिले बजारमा पुरानै डिजाइनका कपडाको स्टक बाँकी रहेको व्यापारी बताइरहेका छन् । होलसेल कपडा पसलबाट नै देशभरका खुद्रा कपडा व्यापारीले सामान खरिद गर्छन् ।
तर, मुख्य होलसेल पसलमै गर्मी मौसमका नयाँ लुगा आएका छैनन् । खुद्रा व्यापारीले २÷३ महिना अघि नै नयाँ लुगाका लागि ‘अर्डर’ गर्ने गरे पनि नआएपछि फर्काउनुपर्ने स्थिति आएको भण्डारीको दुखेसो छ ।
महाबौद्धका अर्को कपडा व्यापारी हरि खड्का पनि पुराना स्टक कपडा हुँदा व्यापार सुस्ताएको बताउँछन् । उनी भन्छन् ‘अहिले बजारमा पुरानो स्टक कपडा मात्रै छ । ती कपडा बेच्न कठिन छ । यो कारणले पनि व्यापार नभएर पसल बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’
२० प्रतिशत व्यापार घट्यो
व्यापारीका अनुसार, अहिले बजारमा कपडाको २० प्रतिशत व्यापार घटिसकेको छ । गत बर्षभन्दा अहिले सानादेखि ठूला व्यापारी कपडाको कारोबारबाट सन्तुष्ट छैनन् । नेपालमा कपडाको बजारमा सबैभन्दा बढी अर्थात ७० प्रतिशत चीनबाट मात्रै आउने गरेको सरकारी तथ्यांक छ ।
तर, चीनमै फैलिएको कोरोना भाइरसको संकमणले नेपाली कपडा बजारलाइ समेत असर पुर्याएको हो । गत आर्थिक वर्ष २०७५/०७६ मा चीनबाट २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कपडाजन्य वस्तु आयात भएको थियो ।
नेपालमा विशेषगरी चीन, भारत, भियतनाम, थाइल्यान्ड, बंगलादेश लगायतका देशबाट पनि कपडा आयात हुने गरेको छ ।गर्मी सिजनमा खासगरी ट्राउजर, विन्डचिटर, पातला ज्याकेट, नयाँ डिजाइनका कपडाप्रति ग्राहकको आकर्षण हुने गर्छ ।