अर्गानिक कफीको स्वादमा रम्दै साथीभाइको जमघट, व्यावसायिक मिटिङ तथा शान्त वातावरणमा भुल्न चाहनेका लागि उपयुक्त गन्तव्य हुन सक्छ, कफीशाला ।
जाडो, गर्मी हरेक मौसममा धेरैको प्रिय पेयपदार्थ बनिरहेको कफीमा अहिले कलेजका विद्यार्थीदेखि व्यावसायिक प्रतिष्ठानका उच्च व्यक्तिहरु पनि भुल्न थालेका छन् । तनाव, थकान, अल्छी भगाउने ओखती बनेको छ, कफी ।
कफीशाला, नामले नै सम्पूर्ण जानकारी दिइसकेको छ । कफी, संसारमै सबैभन्दा बढी रुचाइने पेय पदार्थ र शाला अर्थात् बस्ने ठाउँ । नामअनुसार नै कफीशालामा विभिन्न स्वाद र फ्लेबरका कफी खाँदै आनन्ददायक भएर बस्न सकिन्छ ।
बानेश्वर थापागाउँमा सञ्चालित कफीशालाकी सञ्चालिका हुन्, चर्चित नायिका एवं सञ्चारकर्मी कृति भट्टराई ।टेलिभिजनकी समाचार वाचिका र चलचित्रमा अभिनय पनि गरिरहेकी उनले व्यावसायिक पाइला अगाडि बढाउने क्रममा चार वर्षअघि कफीशाला सुरु गरेकी हुन् ।
केही नयाँ काम गर्ने सोचले कफीशाला सञ्चालन गरेकी उनलाई व्यवसाय सुरु गर्नु अघिसम्म कफीको विषयमा खासै जानकारी थिएन । आफ्नो घरमा भाडामा बस्ने एक साथीको सुझावअनुसार कफीशाला शुरु भएको उनी बताउँछिन् ।
उनले भनिन्, ‘व्यवसाय सुरु गरेपछि अध्ययन गर्दै जाँदा अर्गानिक, स्टान्ड, अमेरिकानो, क्यापाचिनो, रोबस्टालगायत विविध कफीबारेमा थाहा पाएँ ।’
कफीशाला नाम कसरी जुराइयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अल्कोहल मादक पदार्थ पिउने स्थललाई मधुशाला, पढ्ने स्थान पाठशाला भनेजस्तै कफी पिउने स्थल भएकाले कफीशालाको नामकरण गरिएको हो ।’
हुन त अहिले कफीशालामा कफी पिउनेहरुको मात्रै होइन, कफी बनाउन सिक्नेहरुको पनि जमघट हुने गर्छ । किनकि कफीशालाले अर्गानिकदेखि विभिन्न स्वादका कफी बनाउने तालिम प्रदान गरिरहेको छ ।
कफीलाई व्यवसायको प्रथम पाइला ठान्ने भट्टराईले यसैलाई विस्तार गर्न कफी एसोसिएसनका प्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको बताउँछिन् । हरेक युवाको जनजिब्रोमा कफीका विभिन्न फ्लेबर र स्वाद झुन्डियोस् भन्ने चाहना छ, उनको ।
करिब २५ लाख रुपैयाँ लगानी गरिएको कफीशालामा अहिले ३ जनाले रोजगारी पाएका छन् । यो क्षेत्रमा भित्रिरहेको नयाँनयाँ प्रविधिका विषयमा अपडेट हुनुपर्ने र नयाँ स्वाद पस्किन हरेक समय तयार भइहेको उनी बताउँछिन् ।
थोरै लगानी र सानो पुँजीबाट सञ्चालन गर्न सकिने व्यवसाय भएकाले रोजगारीका लागि विदेश जानुभन्दा नेपालमै कफी सप सञ्चालन गर्नु लाभदायक हुने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘अहिले धेरै युवाहरु रोजगारी नपाएर लाखौंँ रुपैयाँ खर्च गरेर विदेश जानुको सट्टा यही सानातिना व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सकिन्छ ।’
कफीशाला नै किन ?
कफी पिउने भनेको केही समय निकालेर गफिने ठाउँ हो । कफी सप अध्ययन गर्ने, महत्वपूर्ण विषयमा छलफल गर्ने, नयाँ आइडिया जेनेरेट गर्ने थलोको रुपमा विकास भइरहेका छन् । ग्राहकले खोज्ने त्यस्तै वातावरण कफीशालामा दिइएको सञ्चालिका भट्टराईको दाबी छ ।
कफीशालामा नेपालका हरेक स्थानमा उत्पादन भएका कफीको स्वाद पाइने उनले बताइन् । ‘कफीसँग सम्बन्धित अध्ययनका लागि राम्रो ठाउँको खोजीमा हुनुहुन्छ भने त्यसका लागि उपयुक्त स्थान कफीशाला हुन्छ,’ उनले भनिन्, ‘त्यसको वातावरण दिन हामी तयार छौँ ।’ कफीशालामा विशेषगरी ललितपुरको गिम्दीमा उत्पादन हुने अर्गानिक कफीको स्वाद लिन पाइन्छ ।
भट्टराईले कफीशालाको बारिस्ता तालिमलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघसंस्थासँग आबद्ध गराउने योजना बनाएकी छिन् । सोहीअनुसारको कोर्ष विकास गराउने लक्ष्य कफीशालाको छ ।