काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संकमणका कारण नेपालमा निर्माणधीन अधिकांश जलविद्युत् आयोजना समस्यामा परेका छन । खासगरी चिनियाँ लगानी र ठेकेदार परिचालन भएका आयोजना समस्यामा परेका हुन ।
चीनबाट प्राविधिक कर्मचारी तथा कामदार नआएपछि निजी लगानीमा निर्माणधिन अधिकांश जलविद्युत आयोजना समस्यामा परेको ऊर्जा उत्पादकहरुले बताएका छन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) बाट प्राप्त पछिल्लो विवरणअनुसार, हालसम्म निर्माणधीन १२ ओटा र अन्य थप केही जलविद्युत आयोजनाको काम कोरोना भाइरसको कारणले ठप्प हुन पुगेको छ । ४ ओटा निर्माणधीन जलविद्युत् आयोजनाले त समस्या परेको भनेर इपान र नेपाल विद्युत् प्राधिकरणमा जानकारी गराइसकेका छन् ।
८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना, २.४ मेगावाटको अपर साङ्गे, ३० मेगावाटको न्यादीखोला, ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाले त औपचारिक रुपमा काम नभएको जानकारी इपानमा गराइसकेका छन् ।
सोलुखोला (दुधकोसी) इन्जिनियरिङ खरिद र निर्माण (इपीसी) मोडेलमा निर्माण गर्न चिनियाँ कम्पनीले ठेक्का पाएको आयोजना हो । चैत मसान्तसम्म काम सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको ३० मेगावाटको न्यादीखोला जलविद्युत् आयोजना पनि प्रभावित बनेको छ ।
चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माणको ठेक्का पाएको सो आयोजनाका प्राविधिक कर्मचारी र कामदार बिदा मनाउन चीन गएका थिए । तर, अहिलेसम्म फर्केका छैनन् । यो आयोजना चालू आवमै सकिने लक्ष्य थियो ।
त्यस्तै, ८२ मेगावाटको तल्लो सोलुखोला जलविद्युत् आयोजना पनि कोरोना भाइरसको कारण अघि बढ्न सकेको छैन् । जसका कारण तोकिएको समयभन्दा ४/५ महिना ढिला हुने आयोजनाले जनाएको छ । १०.७० मेगावाट क्षमताको माथिल्लो सानीगढ जलविद्युत् आयोजनामा कार्यरत कामदार चीनबाट नफर्कदा बाँकी काम सुरु हुन सकेको छैन् ।
यो आयोजना पनि तोकिएको अवधिमा ६ महिना लम्बिने देखिएको छ । ३८.४६ मेगावाटको माथिल्लो कालंगाढ जलविद्युत् आयोजनाको काम पनि अहिले ठप्प छ ।
चिनियाँ ठेकेदार कम्पनीले नै यो आयोजना निर्माण गरिरहेको छ । यता, २१.३ मेगावाटको ठूलो खोला र लमजुङमा निर्माणधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा पनि अवरोध कायमै छ ।
त्यस्तै, प्रारम्भिक विवरणअनुसार, दोर्दी करिडोमा ३ ओटा, मोदीखोलामा २ ओटा, हेवाखोलामा २ ओटा, काबेली करिडोरमा २ ओटा जलविद्युत् आयोजनामा पनि काम अघि बढ्न नसकेको इपानले बताएको छ ।
चालू आवमै निर्माण सम्पन्न भइ विद्युत् उत्पादन हुने १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना पनि समस्या परेको छ । आयोजनामा कार्यरत प्राविधिक तथा कामदार चीनबाट नफर्किएपछि आयोजनाको बाँकी मुख्य काम अघि बढ्न सकेको छैन् । यो आयोजना चिनियाँ ठेकेदारले निर्माण गरिरहेको छ ।
त्यस्तै, इपीसी मोडेलमै चिनिँया ठेकेदार कम्पनीसँग सम्झौता भएको ४८.८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको काम सुरु हुन सकेको छैन् ।
बैशाखभित्र सो आयोजना निर्माण सुरु गर्ने भने पनि ठेकेदार अहिलेसम्म आयोजना साइटमा आउन नसकेको आयोजना पक्षले जनाएको छ । जलविद्युतमा आयोजना बनाउने अधिकांश सामग्री, मेसिन तथा उपकरणहरु चीनबाट ल्याउनुपर्छ ।
तर, केही आयोजनाका लागि चीनमा टेस्ट भएका मेसिन उपकरणहरु त्यहाँका उद्योग बन्द भएसँगै ल्याउन नसकिएको निजी ऊर्जा उत्पादकहरु बताउँछन् । निर्माण सामग्री ल्याउन चीनसँग जोडिएका उत्तरी नाका दुवै नाका अहिले बन्द छन् । उता, चीनमा त्यस्ता मेसिन उत्पादक कम्पनी, उद्योग र कार्यालय अहिले बन्द छन् ।
चिनिँया लगानी, ठेकेदार कम्पनी र कामदार सहभागी भएका अधिकांश निजीक्षेत्रका जलविद्युत् आयोजना कोरोना भाइरस संक्रमणले प्रभावित भएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाइले बताए । ‘चिनिँया लगानी, कम्पनी, कामदार र त्यहाँबाट खरिद गर्नुपर्ने मेसिन तथा सामान समयमै नआउँदा धेरै जलविद्युत् आयोजना समस्यामा परेका छन्’ उनले भने, ‘दर्जनभन्दा बढि निर्माणाधीन आयोजना धेरैपछि धकेलिन सक्ने देखिएको छ ।’
अहिले कोरोना भाइरसका कारण आयोजनामा समस्या पर्यो र ‘डिले’ हुने भन्दै समस्या लिएर प्रवद्र्धकहरु आउन थालेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।
‘पछिल्लो एक हप्तादेखि कोरोनाका कारण विस्तारै असर पर्ने थाल्यो भने भनेर म्यानपावरका हिसावले होइन्, सामानका हिसावले पनि जलविद्युत् प्रवद्र्धकहरु आइरहनुभएको छ’ उनी भन्छन्, ‘ल्याउने सामानको टेस्टिङ नै हुन सकेन भन्नुभएको छ ।
अहिले त त्यो मात्रै टेस्टिङ भइसकेको सामान पनि कारखाना तथा उद्योग बन्द हुँदा समस्या छ । त्यहाँबाट ‘डिसप्याच’ गरेर नेपाल पठाउन नसकिएको भन्दै समस्या पनि छ ।’ कोरोनाको असरले निर्माणधीन आयोजना र समग्र ऊर्जा क्षेत्रलाइ नराम्रो असर पर्न गएको उनी बताउँछन् ।
यस्तै बुटबल पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले गत जनवरी अन्तिमदेखि साइटमा ठेकेदार परिचालन हुनुपर्नेमा हालसम्म नआएको बताए । उनीहरु चीनबाट आउन नसकेकाले आयोजनाको काम ठप्प भएको जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर, दोलखामा निर्माणधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा प्रसारण लाइन र पेनस्टक पाइप जडानमा भएको ढिलाइ हुँदा आयोजनाबाट चालू आवमा नै विद्युत् उत्पादन गर्न गाह्रो छ ।
यो वर्ष ३५० मेगावाट मात्रै विद्युत् उत्पादन हुन सक्ने देखिन्छ । त्यो मात्रै होइन्, चालू आवमा सम्पन्न हुने आयोजना पनि कोरोनाका कारणले ढिला हुँदैछन् । प्राधिकरणले प्रक्षेपण गरेको पछिल्लो लक्ष्य पनि पुग्ने संभावना न्युन छ ।