काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन्।
बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राखेका हुन्।
'गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो,' प्रवक्ता डा. महतले भने, 'जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ।'
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्नेमा जोड दिँदै प्रवक्ता डा. महतले भने, 'बजेट वर्षभरिको आम्दानी र खर्चको विवरण हो। आम्दानी खर्च जुटाउने, स्रोतको सुनिश्चितता हुने र हाम्रा आवश्यकता तथा प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ।'
प्रवक्ता डा. महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिए। सामाजिक सुरक्षा, शिक्षा, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र आदिलाई बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।