काठमाडौं । नेपाल–भारतबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केबर—मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन आगामी चैतभित्र सञ्चालनमा आउने भएको छ । नयाँ ट्रान्सफर्मर जोड्ने र भारततर्फको तार तान्ने काम सकिएपछि प्रसारण लाइन ४०० केभीमा चार्ज हुने छ ।
प्रसारण लाइनको मुख्य फाउन्डेसनमा ट्रान्सफर्मर जोड्ने काम अन्तिम चरणमा छ । ३१५ एमभीए ट्रान्समिसन लाइन जोडिसकिएको र दुइओटा जोड्न बाँकी छन् । भारतबाट ट्रान्समिसन लाइन र टान्सफर्मर लाइन आउन ढिलाइ हुँदा पनि आयोजना ढिला भइरहेको छ । ट्रान्समिसन आउने बित्तिकै दुइओटा ट्रान्सफर्मर जोडिने नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए ।
त्यस्तै, कन्ट्रोल रुममा वायरिङ, उपकरण जडान र स्तरोन्तीको काम करिव अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका अनुसार, मार्चको अन्तिमसम्म प्रसारण लाइन निर्माण सम्पन्न गरी अप्रिल महिना भित्रै सो लाइनलाइ ४०० केभी क्षमता चार्ज गर्ने योजना बनाएको छ ।
भारततर्फ १ ‘स्पान’ तार तान्ने र आयोजनाका अन्तिम काम सकेर अप्रिलबाट लाइन चार्ज गर्ने भन्ने योजना रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।
भारततर्फको तार तान्न ४/५ दिन ‘सर्टडाउन’ गरेर लाइन जोडिनेछ । धनुषामा निर्माणधीन उक्त प्रसारण लाइन स्वदेशी लगानीमा बनिरहेको छ ।
४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच झन्डै १ हजार २०० मेगावाट विद्युत आयात–निर्यात गर्न सकिनेछ । हाल ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन २२० केभीमा लाइन चार्ज भइरहेको छ ।
उक्त प्रसारण लाइनमार्फत हाल भारतबाट विद्युत् आइरहेको छ । ढल्केबरमा ४००/२२० केभी सबस्टेसनको निर्माण बर्खायाम बचत हुने विद्युत् भारत निर्यात गर्न सकिने छ भने हिउँद वा आवश्यक परेको बेला भारतबाट विद्युत् आयात गर्न सकिनेछ ।
चालू आर्थिक वर्षमा नै दोलखामा निर्माणधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर, प्रसारण लाइन र पेनस्टक पाइप जडान गर्ने काममा भइरहेको ढिलाइले चालू आवमा आयोजनाबाट विद्युत् उत्पादन नहुने देखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालमा विद्युत् वर्षादमा बढी हुनेछ ।
विद्युत् पारवहन र ‘इनर्जी बैकिङ’ गर्न पनि यो प्रसारण लाइन कोशेढुंगा रहनेछ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट ‘पिक आवर’ मा २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ । ढल्केबरमा २२०/१३२ केभी क्षमताको सबस्टेसन पनि सञ्चालनमा छ ।
भारतीय कम्पनी एबीबीले ३१ डिसेम्बर, २०१९ भित्र सवस्टेशन निर्माणका काम सकि लाइन चार्ज गर्ने प्रतिवद्धता जनाएको थियो । तर, उक्त समयसम्म प्रसारण लाइनको काम सक्न निकै चुनौती छ । थप समय दिएर भएपनि डेढ महिनाभित्र प्रसारण लाइन ४०० केभी क्षमतामा चार्ज गर्ने लक्ष्य प्राधिकरणको छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणको कामलाइ तीव्र रुपमा अघि बढाइरहेको छ ।