काठमाडौं। संसद्का दुवै सदनको बर्खे अधिवेशन वैशाख १२ देखि सुरु हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद् सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख १९ मा दुवै सदनमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने र ‘प्रि–बजेट’ छलफल वैशाख २८ देखि हुनेछ। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि–बजेट छलफल हुने कानुनी प्रावधान छ।
सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि–बजेट छलफल हुनेछ।
अर्थमन्त्रीले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नेछन्।
बजेट अधिवेशन भए पनि यसपटक संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत गरिनेछ। कर्मचारी र शिक्षकले ऐन ल्याउन माग गर्दै सडक तताइरहेका छन्।
शिक्षक आन्दोलनका कारण वैशाख २ देखि सुरु हुने भनिएको भर्ना अभियानसमेत प्रभावित भएको छ भने कक्षा १२ को परीक्षासमेत स्थगित गरिएको छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ मा अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।
संसद् अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।