काठमाडौं। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले महाराजगन्जस्थित निवासमा नेताहरुको जमघट गराएर चियापान आयोजना गरेका छन्। कोइरालाको चियापानमा संस्थापन इतरका कांग्रेस नेताहरुको बाक्लो भीड देखिएको छ।
कोइरालाले लोकतन्त्र दिवस अवसरमा निजी निवासमा चियापान आयोजना गरेर आगामी महाधिवेशनमा शक्तिशाली रुपमा आफूलाई अथ्र्याउन चाहेको राजनीतिक विश्लेषण गरिँदै छ।
कोइराला निवासमा कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउद, दिलेन्द्र बडु, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैनसिंह महर, राजीव ढुंगाना, शिव हुमागाईंलगायत नेताहरु चियापानमा सरिक छन्।
कोइरालाले पार्टीका पूर्वपदाधिकारीलगायत नेताहरुलाई निमन्त्रणा गरेर चियापान आयोजना गरेका हुन्। आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन्।
सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट १५औं महाधिवेशनमा सभापति उम्मेदवार चयन नगरेपछि संस्थापन पक्षका पूर्वपदाधिकारीले छलफल अगाडि बढाएका हुन्।