काठमाडौं। भारतको हिंसाग्रस्त केन्द्र शासित राज्य जम्मु–कस्मिरको पुलवामा आतंकवादी आक्रमण हुँदा एक नेपालीसहित २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार मंगलबार पुलावाको बाइसरन उपत्यकामा बन्दुकधारी समूहले आक्रमण गर्दा कम्तीमा २७ जनाले ज्यान गुमाएका हुन्।
जम्मु कस्मिरको पुलवामा २०१९ मा भएको आतंकवादी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए।
मृतकमध्ये अहिलेसम्म एक युएईका नागरिक र एक जना नेपाली, एक नौसेना जवान र दुई स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमले उल्लेख गरेका छन्। बाँकी पर्यटक गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसका रहेका छन्। आतंकवादीले नाम र धर्म सोध्दै पर्यटकको शिरमा गोली हानेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पुलवामा पुगेका थिए। मिनी स्वीट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पुलवामा श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ।
घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धारमा कठिनाइ भएको सरकारी अधिकारीले बताएका छन्।
घटनामा घाइते कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय डाक्टरले जानकारी दिएका छन्।‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको छ।
यसैबीच हाल साउदीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
घटनाबारे बुझ्न केन्द्रीय गृहमन्त्री अमित शाह आज जम्मु कस्मिर भ्रमणमा जान लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।–एजेन्सी