काठमाडौं। गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले आफूहरूलाई ‘डमी’ बनाएकाले राजीनामा दिन बाध्य भएको बताएका छन्।
एक महिनासम्म समितिका अध्यक्ष अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाउन नसकेको भन्दै पूर्वगभर्नर भट्टराईले राजीनामा दिएको बताए। उनले समितिको औचित्यमाथि चौतर्फी प्रश्न उठ्न थालेपछि राजीनामा दिने निष्कर्षमा पुगेको बताएका हुन्।
‘एक महिनामा एउटा पनि बैठक नबस्ने समितिमा पनि कोही बस्छ? बैठक सदस्यले बोलाउने होइन मन्त्री ज्यूले बैठक नै बोलाउनु भएन, सबै उहाँहरु मिलेर छान्ने भए हाम्रो औचित्य के भयो? केही भएन, छनौट समितिलाई डमी जस्तो हिसाबले ट्रिट भएपछि छोडेको हो,’ उनले भने।
यस्तै, उनले समितिका अध्यक्ष अर्थमन्त्री पौडेलले आफूहरूसँग कुनै विषयमा कुरा नगरेको बताए। ‘गभर्नर कसलाई बनाउने भनेर माथि नै तय भइसकेपछि छनौट सिफारिस समितिलाई डमी बनाइएपछि राजीनामा दिएको हुँ,’ उनले थपे।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पौडेल संयोजक हुने गरी समिति गठन गरेका थियो। सरकारले फागुन २२ गते सिफारिस समिति गठन गरेको हो।
समितिका सदस्यमा भट्टराईसँगै अर्थविद् डा. विश्व पौडेल पनि छन्। यसअघि उनी समितिमा काम नभएको भन्दै एक साता विदेश भ्रमणमा निस्किएका थिए।
गत चैत्र २४ गतेदेखि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षको पदावधि सकिनुअघि सरकारले छनोट समिति गठन गरेको थियो।
तर, गभर्नर नियुक्त गर्न नसकेपछि सरकारले निलम ढुंगानालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिएको छ। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गरिसक्नुपर्ने हुन्छ।