काठमाडौं। नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ।
विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरुमध्ये छनोट भएका ९८ चलचित्रहरुबाट २० ओटा चलचित्रहरु नोमिनेशनमा परेका थिए। चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ।
सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेशनमा परेको थियो। अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेस्टिभल ‘लाईट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसनलगायतका थुप्रै चलचित्र महोत्सवहरुमा ‘पाउलो’ छनोट भएको थियो। छैटौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवको (एनसिआईएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन्।
काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन्। सहायक निर्देशन करन साउदको रहेको छ। लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन्।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो। जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन्।