काठमाडाैं। चीनकाे राजधानी बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा दूतावास परिसरमा वैशाख ८ गते ‘नेपाली खाना महोत्सव २०२५’ सम्पन्न भएकाे छ।
नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्कन र प्रवर्द्धन गर्न कार्यक्रम सफल भएकाे आयोजक हाेटल संघ नेपालले बताएकाे छ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं दौत्य सम्बन्ध र चीनमा नेपाल भ्रमण वर्ष २०२५ अवसरमा आयोजित कार्यक्रममा रैथाने खाना प्रवर्द्धनले महत्त्वपूर्ण सहयोग पुर्याएको होटल संघ नेपालले जनाएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपाली रैथाने खानामार्फत समग्र पर्यटन प्रवर्द्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भागभन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिबारे प्रकाश पार्नुका साथै सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित गरे।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै संघले कार्यक्रम गरिरहेको हुँदा यसमा समेत सहकार्य गरेको बताए।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले प्रस्तुतीकरण गरेकाे कार्यक्रममा संघले दुई विज्ञ नेपाली सेफ उपलब्ध गराएको थियो।
कार्यक्रममा विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योग बीचको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए।
महोत्सवमा सेलरोटी, मःमः, योमारी, जुजु धौ, कागुनीको शिर, चटामरी, चोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलुलगायतका नेपाली परिकार प्रस्तुत गरिएका थिए। थांका, स्ट्याचु, पश्मिना, गायन कचौरा, कार्पेट, गहना आदिजस्ता विभिन्न नेपाली हस्तकलाका वस्तु, नेपाली चिया र पानी प्रदर्शन गरिएको थियो।
नेपाली संस्कृतिक प्रस्तुति देखाइएकाे कार्यक्रममा चिनियाँ सरकारी अधिकारी, बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पानामाका राजदूतसहित कूटनीतिक समुदाय, विश्व पर्यटन गठबन्धनका सदस्य, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज, ट्राभल एन्ड टुर कम्पनी, नेपाली र चिनियाँ समुदाय एवं मिडियालगायत चार सय बढी सहभागी थिए।