भक्तपुर। नयाँ वर्ष तथा बिस्केट जात्रा अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजित नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सम्पन्न भएको छ। तीन लाखले अवलोकन गरेकाे उक्त महोत्सवमा करिब चार करोडको व्यापार भएको हो।
‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’ नारासहित औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा एक सय ५० बढी प्रदर्शनी कक्षले सहभागिता जनाएको संस्थाका अध्यक्ष सन्दीप महतले बताए।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, अटोमोबाइल, आधुनिक कृषिऔजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीमा उपभोक्ताको बढी घुइँचो रहेको बताउँदै ती सामानको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको उनले जानकारी दिए।
महोत्सव संयोजक दीपक थापाले घोडाचढी, बालउद्यान, ड्रागन ब्रेक डान्स, रोटेपिङ, रेनजर, मारुती सर्कस तथा विभिन्न प्रकारका बच्चाको खेलौनाका प्रदर्शनी कक्षमा बालबालिकाको घुइँचो लागेको बताए।
उनका अनुसार स्थानीय खाना महोत्सवमा उपभोक्ताको आकर्षण थियो।