काठमाडौं। उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गत बागमती नगर जग्गा एकिकरण आयोजना गौरीघाटका अमिनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका करारमा कार्यरत अमिन दिनेश प्रसाद यादवविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे।
२०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा उनले ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा भ्रष्टाचार गरेकाे खुलेकाे अख्तियारले जनाएकाे छ।
उनले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष,आवास कर्जा, कृषि आम्दानी,सवारी र अचल सम्पत्ति बिक्री,सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा वैध रुपमा आय गरेको अख्तियारकाे ठहर छ। सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा खर्च गरेको अख्तियारले जनाएकाे छ।
उनको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको अख्तियारकाे आराेप छ। त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको अख्तियारले बताएकाे छ।
यस्तै, सो गैरकानूनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको भन्दै अख्तियारले अमृता कुमारी यादवलाई पनि प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरेकाे छ।