काठमाडौं। भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्। मन्त्री खट्टर अरुण–३ जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका लागि वैशाख ९ गते नेपाल आउन लागेको ऊर्जा, सिंचाइ तथा जलस्रोत मन्त्रालयले जानकारी दिएकाे हाे।
ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आउन लागेका खट्टरले नेपाली समकक्षीसँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किनेछन्। सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सबस्टेसन संयुक्त रूपमा उद्घाटन गर्नेछन्।
यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माण प्रक्रिया अगाडि बढाइने बताइएको छ।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका समकक्षी खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए।
ऊर्जामन्त्री खड्कासँगै समकक्षी खट्टरले वैशाख ९ गते भारतको सहयोगमा निर्माण सम्पन्न कोसी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सवस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन र संखुवासभाको तुम्लिङटार सबस्टेसन संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।
वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङस्थित मुक्तिनाथ दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ।
एसजेवीएनले संखुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा गरिरहेको छ। अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगिसकेको छ।
यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) स्वामित्वको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको आयोजना निरीक्षणका लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ।
नेपालका समकक्षी खड्का पनि अरुण–३ अवलोकन गर्न खट्टरसँगै अरुण ३ आयोजना स्थल संखुवासभा पुग्नेछन्। कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ।