काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैशाखभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने तयारी भइरहेको बताएका छन्।
मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाखमा थपिने एवं विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार वैशाखमा वीर अस्पतालले सर्जिकल आइसीयू सेवा विस्तार गर्नेछ। वीरको आइसीयूमा ९ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ।
यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दै छ। जलन वार्ड, सिमुल्टेसन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाखसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ।
भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दै छ। भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्म थप गर्नेछ। नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्म क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ।
धनगढीको गेटा अस्पतालले वैशाख तस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकैसाथ थाल्नेछ। मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पताललाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए।
सोहीअनुसार गत चैतमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालू आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए।