काठमाडौं। कालीकोट र पाल्पामा भएको सडक दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्।
कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर बुडाडाँडा नजिक गए राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ।
दुर्घटना मृत्यु हुनेमा ट्रयाक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका चन्द्रप्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का रवीन्द्र विक, सोही स्थानका सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५÷२६ वर्षीया अम्बा शाही छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको कार्यालय प्रमुख टेकबहादुर रावतले बताए।
उनका अनुसार दुर्घटनाग्रस्त ट्रयाक्टर सडकभन्दा तल अप्ठेरो भीरमा अड्किएको छ। शव सडकभन्दा करिब २०० मिटर तल भेटिएका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राती नै घटनास्थल पुगेको थियो।
यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गए राती लु१ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको पाल्पा प्रहरीले जनाएको छ।