काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रीबस चलाउने योजना बनाएको छ । उपत्यकाभित्रका विभिन्न १५ वटा रुटमा चल्ने गरी रात्री बस सेवा सञ्चालनको तयारीमा महानगरले प्रक्रिया अघि बढाइरहेको हो ।
काठमाडौं उपत्यकाको सहरलाई रातमा जागा राख्न तथा रात्रीकालीन समयमा पनि यात्रुहरुलाई सहज रुपमा यातायात सेवा दिन आउँदो बैशाखदेखि रात्रीबस चलाउने योजना बनाएको काठमाडौं महानगरअन्र्तगत सहरी व्यवस्था विभाग प्रमुख हरिकुँवर श्रेष्ठले बताए । उनले १५ ओटा रुटमा पहिलो चरणमा चलाउने लक्ष्य रहेको बताए । ‘अहिले उपत्यकाका १५ ओटा रुटमा रात्रीबस सञ्चालन गर्ने गरी तयारी गरेका छौं’ उनले भने,‘रुटको व्यवस्थापन, सवारी भाडादर, शुरक्षा लगायतको विषयमा अध्ययन र छलफल भइरहेको छ । अब केही दिनमा नै यसको ‘मोडालिटी’ आउनेछ ।’
रात्रीकालीन सार्वजानिक यातायातको आवश्यकता महसुस हुँदै गएपछि महागरले दुइबर्षअघि नै यो योजना बनाएको हो । उनले भने, ‘यातायात व्यवसायीको माग अनुसार ट्याक्सीमा बेलुकामा लगाउने ग्रेडिङ जस्तै गरी भाडादर कायम गर्ने गरी तयारी गरेका छौ ।’
रातीमा बस सञ्चालन गर्ने भएकाले भाडामा ५० प्रतिशत बढी नै लाग्न सक्ने उनी बताउँछन् । उनका अनुसार, आम ग्राहक तथा यात्रुले बिहान र दिउँसो तिर्ने भाडा २० रुपैयाँ भए रात्री बसमा ४० रुपैयाँ तिर्नुपर्ने हुन्छ । भाडादर दिनको तुलनामा दोब्बर हुनेभएपछि मात्रै रात्रीकालीन बस चलाउन यातायात व्यवसायी मञ्जुर भएपछि रात्रीबस चलाउने प्रक्रिया अघि बढेको महानगरले जनाएको छ ।
रात्रीकालिन यातायात सञ्चालनमा आउने भएपछि रात्रीकालीन बजारको पनि आवश्यकता पर्ने भएकाले बजार, बैंक तथा सडक बत्ती र शान्ति सुरक्षाको पनि व्यवस्थापन गर्ने गरी महानगर सबै सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडी बढेको श्रेष्ठले जानकारी दिए ।
यसअघि काठमाडौं महानगरले नै उपत्यकामा वि.सं २०६९ मा रात्रीकालीन बस चलाएको थियो । तर, केही समय मात्र सञ्चालनमा आएर बन्द भयो । अब अहिले समय र समाज फेरिएको भन्दै महानगरले यसलाई निरन्तरता दिने गरी तयारी गरिरहेको छ ।
तीन वर्ष अगाडी देखि यातायात व्यवसायी र यातायात व्यवस्था विभाग बीच भाडाको दरमा सहमति नहुँदा उपत्यकाभित्र रात्री बस सञ्चालन गर्ने योजनामा अन्योलमा पर्दै आएको छ ।
याे पनि पढ्नुस, भाडादर कायम हुन नसक्दा काठमाडौंमा रात्रि बस चलेनन्
२०७६ असार १ देखि नै उपत्यकाका विभिन्न रुटमा रात्रीबस सञ्चालन गर्ने यातायात व्यवस्था विभागले तयारी गरेको थियो । तर, विभागले निर्धारण गरेको भाडा दरमा ब्यवासायीहरु सहमत नभएपछि रात्री बस सञ्चालनमा आउन सकेको थिएन ।
यसअघि महानगर, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा सरोकारवाला पक्षबीच भएको संयुक्त बैठकमा औपचारिक रुपमा रात्रीबस सञ्चालन गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
अहिले पनि काठमाडौ उपत्यकाभित्र रातको ८ बजेपछिको समयमा सार्वजनिक यातायात चल्दैनन् । जसले गर्दा यात्रुहरुले बढी भाडा तिरेर ट्याक्सी रिजर्भ गर्नुपर्ने हुन्छ ।
उपत्यकामा रात्री बस सञ्चालन गर्ने विषय नौलो होइन । यातायात व्यवस्था विभागले बेला बेलामा काठमाडौं महानगर तथा अन्य नगरसँगको सहकार्यमा बस सञ्चालन गर्ने तयारी गरेको थियो । विभागले २०७६ असारमा १२ यातायात कम्पनीलाई १८ रुटमा सञ्चालन अनुमति दिएर न्युनतम २५ रुपैयाँ भाडादर तोकेको थियो । तर, यातायात व्यवसायीले रात्रीको समयमा सेवा प्रदान गर्दा साबिकको भन्दा दोब्बर भाडा हुनुपर्ने भन्दै विरोध गरेपछि २४ घण्टामा नै निर्णय र्फिता भएको थियो ।
अहिले पनि कतै यस्तै त हुने होइन ? भन्ने शंका पनि आउन सक्छन । तर, रात्रीबस सञ्चालन गर्ने विषयमा सबै निकायसँगको सहमतिमा गर्न लागेकाले यस्तो नहुनेमा ढुक्क रहेको श्रेष्ठ बताउछन ।
साझा यातायातले पनि दुई बर्ष अगाडी ९ बजेदेखि ११ बजेसम्म रात्री सेवा शुरु गरेको थियो । तर, आर्थिक रुपमा नोक्सान भएको भन्दै सेवा नै बन्द ग¥यो । उक्त समयमा काठमाडौ महानगरपालिकाले व्यवसायी समितिलाई राती ३ घण्टा बस सञ्चालन गर्दा ४५ लाख अनुदान दिएको थियो । तर, व्यवसायीहरुले अनुदान लिएको केही समय विभिन्न रुट छुट्याएर सेवा सञ्चालनमा ल्याए पनि पछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।
त्यसैले, अहिले महानगरले रात्रीकालीन यातायात सञ्चालन गर्न कसैलाई पनि अनुदान नदिने र ६० वटा यातायात कम्पनीले हरेक एक दिन रात्रीकालीन बस सञ्चालन गर्न अनुरोध गरेको छ ।
यता, पहिले रात्रीकालीन बजार र भाडा निर्धारण निर्धारण नभएसम्म रात्रीकालीन बस सेवा सञ्चालन गर्न नसकिने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले हिजोको जस्तो १÷२ दिन चल्ने अनि बन्द हुने वातावरण अन्त्य हुनुपर्ने बताए ।
‘पहिला रात्रीकालीन बजार हुनुपर्छ । त्यसखालको भाडादर कायम हुनुपर्छ । बजार चलायमानको वातावरण हुनुपयो’ उनले भने, ‘हो, हामीले २४ संै घण्टा भनेपनि चलाइदिन्छौं । तर, त्यस्का लागि वातावरण बन्नुपर्यो । दुइचार दिन चल्ने अनि बन्द हुने हुनुभएन् ।’