काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा विद्युत उत्पादनमा लिएको लक्ष्य पुरा नहुने भएको छ । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १११ मेगावाटको रसुवागढीलगायत एक दर्जन आयोजनामा ढिलाइ भएपछि सरकारको लक्ष्य पुरा नहुने भएको हो ।
चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक र निजी क्षेत्रबाट १ हजार मेगावाट बिजुली उत्पादन गरी जडित क्षमता २ हजार २०० मेगावाट पुर्याउने लक्ष्य तय गरेको थियो । यस्तै नेपाल विद्युत् प्राधिकरणले चालू आवमा १००५ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरको थियो ।
तर, दोलखामा निर्माणधीन माथिल्लो तामाकोसीसहित १५ साना/ठूला जलविद्युत् आयोजना सम्पन्न हुन नसक्ने भएपछि लक्ष्यको ५० प्रतिशत विद्युत् पनि उत्पादन थप हुन नसक्ने देखिएको हो ।
चालू आर्थिक वर्षमा प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका साना/ठूला गरी ५० ओटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । प्राधिकरणले माथिल्लो तामाकोसी यो वर्ष सम्पन्न भई बिजुली उत्पादन हुने आयोजनाका रुपमा लिएको थियो ।
आयोजनामा पेनस्टक पाइप जडानको जटिल काम भइरहेकाले ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुने अवस्था छैन् । आयोजनाको काम ९९ प्रतिशत सकिएको छ । रसुवागढीको ७५ प्रतिशत काम सकिएको छ । कोरना भाइरसका कारण यो आयोजनाको काममा अवरुद्ध जस्तै छ ।
माथिल्लो तामाकोसी र रसुवागढी नआएमा प्राधिकरणले लिएको विद्युत् उत्पादन लक्ष्य ५० प्रतिशत घट्ने प्रवक्ता प्रवल अधिकारी बताउँछन् । उनका अनुसार, तामाकोसीसहित चिलिमे जलविद्युत कम्पनीअन्र्तगतका रसुवागढी, सान्जेन, भोटेकोशी लगायतका आयोजना सम्पन्न हुन पनि चालू आवमै कठिन छ । आगामी आर्थिक वर्षमा यी सबै आयोजना सम्पन्न भए विद्युत उत्पादनमा नयाँ रेकर्ड कायम हुने देखिन्छ ।
सम्पन्न हुने भनिएका ५० ओटामध्ये ३५ ओटा मात्रै आउने छन् । ती आयोजनाबाट ३८७ मेगावाट विद्युत् उत्पादन थपिने बढी सम्भावना रहेको प्रवक्ता अधिकारी बताउँछन् । ती ३८७ मेगावाटका ३५ ओटा जलविद्युत् आयोजनामध्ये पनि चालू आवको फागुन १२ गतेसम्म आइपुग्दा १२१ मेगावाट विद्युत् उत्पादन थप भइसकेको छ ।
बाँकी २२ ओटा जलविद्युत् आयोजनाबाट २६५ मेगावाट आउँदो असार मसान्तभित्र राष्ट्रिय प्रणालीमा थपिने प्राधिकरणको अनुमान छ । यद्यपी पछिल्लो लक्ष्यमा राखिएका केही आयोजना नआउने संभावना छ । त्यसैले ३८७ मेगावाटको लक्ष्य पनि घट्ने संभावना छ । लक्ष्य भन्दा कम आएपनि बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम हुने छ ।
आयोजनामा कोरोनाको असर
चालू आवमै निर्माण सम्पन्न भइ विद्युत् उत्पादन हुने भनिएका केही जलविद्युत् आयोजनामा चीनबाट फैँलिएको कोरोना भाइरस प्रभाव परेको प्राधिकरणको भनाई छ । चीनियाँ लगानी, ठेकेदार, प्राविधिक र निर्माण सामग्री प्रयोग भएका जलविद्युत् आयोजना अहिले ठप्प जस्तै छन् । आयोजना साइटमा केही काम भएपनि निर्माणले गति लिन सकेको छैन् ।
दशैं, तिहारअघि नै बिदा मनाउन चीन गएका कामदार तथा प्राविधिक आयोजनामा फर्कन सकेका छैनन् । जसका कारणले आयोजना मुख्य काम नै अघि बढ्न सकेको छैन् । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका कार्यरत प्राविधिक कामदार नफर्कदा आयोजना सम्पन्न हुन नसक्ने अवस्था छ ।
त्यस्तै, चीनियाँ लगानी इन्जिनियरिङ, खरिद र निर्माण(इपीसी) मोडेलमा निर्माणधीन २५ मेगावाटको न्यादी जलविद्युत् आयोजना पनि कोरोनाकै प्रभावले पछि धकेलिन सक्ने देखिन्छ । त्यो आयोजनाको पनि यसैवर्ष सम्पन्न भइ विद्युत् उत्पादन दिने लक्ष्य थियो । त्यस्तै, सिंगटीखोला लगायत चीनिँया लगानी र निजी क्षेत्रबाट प्रवद्र्धन भएका आयोजनामा कोरोना भाइरसको प्रभावले चालू आवमै आयोजना सम्पन्न गर्न चुनौती छ ।
जलविद्युत्मा आयोजनामा प्रयोग हुने अधिकांश सामग्री, मेसिन तथा उपकरणहरु चीनबाट ल्याउनुपर्छ । तर, केही आयोजनाका लागि चीनमा टेस्ट भएका मेसिन उपकरणहरु त्यहाँका उद्योग बन्द भएसँगै ल्याउन नसकिएको निजी ऊर्जा उत्पादकहरु बताउँछन् ।
चीनसँग जोडिएका उत्तरी नाका दुवै नाका अहिले बन्द छन् । उता, चीनमा त्यस्ता मेसिन उत्पादक कम्पनी, उद्योग र कार्यालय अहिले बन्द छन् । कोरोना भाइरस संकमणको सन्त्रास कहिलेसम्म रहने हो, त्यतिवेलासम्म जलविद्युत्मा आयोजना त्यस्को असर देखिने गर्छ । आउँदो दिनमा चीनिँया ठेकेदार र कामदार भएका आयोजनामा अझै अन्योलतमा थपिने देखिन्छ ।
बढी बिजुली निर्यातको सम्भावना टर्यो
सरकारले माथिल्लो तामाकोसी र रसुवागढीबाट उत्पादन हुने बिजुली स्वदेशमा खपत भएर बचेको भारत निर्यात गर्ने लक्ष्य लिएको थियो । त्यसअनुसार, निर्यात गर्न ठूलो क्षमताको प्रसारण लाइन र वितरण प्रणाली चाहिन्छ । त्यसका लागि अहिले ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । सो लाइनबाट झन्डै १ हजार मेगावाट विद्युत् नेपाल र भारतबीच आयात निर्यात हुन सक्नेछ ।
तामाकोसी आयोजना चालू आवमा नआउँदा तत्काल बिजुली भारत निर्यात गर्नुपर्ने अवस्था नहुने अधिकारी बताउँछन् । बर्खायाममा केही बचत भएको बिजुली मात्रै भारत बेच्न सकिने भए पनि हिउँदमा भारतबाटै ल्याउनुपर्ने अवस्था छ । लोडसेडिङ्ग हटाउन विद्युत प्राधिकरणले भारतबाट ५०० मेगावाट बिजुली आयात गरिरहेको छ ।