काठमाडौं । आफ्नो डिजिटल वालेटबाट कसैलाई पैसा ट्रान्सफर गर्दा गल्तीले अर्कै ठाउँमा पुग्यो भने त्यो पैसा के हुन्छ ? सेवाप्रदायकले ‘रिभर्स’ गर्नुपर्छ । तर, पायोनियर डिजिटल सेवाप्रदायक कम्पनी इ–सेवाको खाताबाट पैसा पठाउँदा गल्तीले अर्कै माध्यममा पुगेपनि त्यसलाई फिर्ता ल्याउन नमिल्ने सिस्टमका कारण सेवाग्राहीलाई समस्या हुन थालेको छ ।
केही दिन अघि सिर्जना सेनले उनको इ–सेवा खाताबाट आफ्नो एक साथीकै इ–सेवामा २५ हजार ट्रान्सफर गर्नुपर्नेमा झुक्किएर दिनेश पौडेलको प्रिपेड मोबाइल नम्बर ९८४११७८५३६ मा २५ हजार रुपैयाँ बराबरको ‘टपअप’ गरिन् ।
दिनेशको मोबाइल व्यालेन्समा २५ हजार रुपैयाँ जम्मा भएको थाहा भएपछि सेन एकछिन रनभुल्ल परिन । उनी त्यति ठूलो रकम मोबाइल ब्यालेन्समा जम्मा भएपछि रकम फिर्ता हुने हो वा होइन भन्ने बिषयमा अन्योलमा परिन् । दिनेशको मोबाइल ब्यालेन्समा २५ हजार जम्मा भएपनि कुनैपनि प्रयोजनमा सो रकम खर्च गर्नसक्ने अवस्था थिएन । फोनमा कुराकानी गरेर त्यो कहिलेसम्म सकिन्छ, त्यो स्वयम दिनेशलाई पनि थाहा थिएन् ।
गल्तीले पैसा ट्रान्सफर भएपछि पौडेल र सेनले इ–सेवामा खबर गरे । तर, इ–सेवाले आफ्नोतर्फबाट पैसा रिभर्स गर्न नमिल्ने तर, नेपाल टेलिकमले चाह्यो भने हुने भन्ने जवाफ दियो ।
दुवै जनाले नेपाल टेलिकममा सम्पर्क राख्दा टेलिकमले यो समस्या इ–सेवाले नै समाधान गर्न सक्ने भएकाले इ–सेवाको माध्यमबाट आउनुपर्ने जवाफ दियो । त्यसपछि सेन झनै तनावमा परिन । उनको यो समस्या उत्पन्न भएको एक साता भइसकेपनि समस्याको समाधान हुन भने सकेको छैन् ।
इ–सेवाका जनरल सर्भिस प्रमुख सुजन डंगोलले त्यसरी इ–सेवाको खाताबाट मोबाइलमा भएको टपअपको पैसा फिर्ता गर्न मिल्ने सुविधा इ–सेवासँग नभएको बताए । ‘यसरी टपअप गरेको पैसा फिर्ता गर्न मिल्दैन । तर, टेलिकमले चाह्यो भने हुन्छ,’ उनले भने । ‘यस्तो समस्या अहिले इ–सेवामा दुई/तीन सयओटा आइरहेकाले हामीले पनि टेलिकमलाई जानकारी गराएका छौं ।’
नेपाल टेलिकमका अनुसार यस्तो घटना बारम्बार आउने गरेको छ । यस्ता किसिमका उजुरी सयौं सङ्ख्यामा आउने भएपनि टेलिकम र इ–सेवा एक अर्कालाई देखाउँदै पन्छिदै आएका छन् । मुख्य सरोकार कम्पनी इ–सेवा पनि कम्पनीको पैसा फिर्ता गर्ने सुविधा नरहेको भन्दै ग्राहकलाई दिने सेवाबाट पन्छिने गरेको छ ।
टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले यस्तो ‘केस’ विगतमा पनि टेलिकममा आएको बताउँदै इ–सेवासँगको सहकार्यमा यस्तो समस्या समाधान गर्न सकिने जानकारी दिए । ‘ई–सेवाले टेलिकमलाई पत्र पठाएपछि टेलिकमले प्रक्रिया अगाडी बढाउँछ उनले भने उक्त रकम टेलिकमले रकम फिर्ता गर्ने होइन । इ–सेवाले टपअप नै रद्द गराउँछ र टेलिकममा आएको रकम पनि रद्द हुन्छ’ । दुबै पक्षबाट टप रद्द गरिसकेपछि इ–सेवाले नै उक्त समस्या समाधान गर्न सक्ने भण्डारीको भनाई छ ।
तर, सेवाप्रदायकको पैसा काटिसकेपछि फिर्ता गराउनका लागि इ–सेवाले पहल नगरेको पौडेल बताउँछन् । ‘गल्तीले मेरो मोबाइलमा पैसा आयो म न त्यो पैसालाई ‘क्यास’ गराउन सक्छु न अरु ‘सपिङ’मा प्रयोग गर्न सक्छु, इ–सेवालाई पटक पटक भन्दा पनि सुनुवाई भएन,’ उनले भने । ‘सेनजीलाई त्यो बराबरको ‘क्यास’ दिउ भने मैले २५ हजारको ‘टपअप’बाट कहिलेसम्म कुराकानी गर्ने ?’