काठमाडौं । नेपाली बजार पछिल्लो एक साता देखि सुनको मुल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । दिनहुँ रेकर्ड कायम गरिरहेको सुनको मुल्यमा आव भने सामान्य गिरावट आएको छ ।
सोमबार एकै दिन १५ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ३ सयको रेकर्ड कायम गरेको सुनको मुल्य मंगलबार भने घटेको छ । मङगलबार छापावाल सुन तोलामा ३ सय घटेर प्रतितोला ८० हजार र तेजावी सुन तोलामा ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य सामान्य घटेपनि चाँदीको मुल्य स्थिर रहेको छ । नेपाली बजार चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसरी सुनको मुल्यमा उतारचढाव आउनुमा चीनमा फैलिएको कोरोना भाइरस प्रमुख कारण रहेको महासंघले जनाएको छ ।
कोरोना प्रभावले विश्व अर्थतन्त्रलाई नै त्रसित बनाएकाले सुनको मुल्य बढेको र नेपाली बजारमा त्यसको प्रत्यक्ष असर परेको नेपाल सुनचाँदी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार विश्व बजारमा लगानीकर्ताले सुनमा लगानी सुरक्षित हुने भन्दै बृद्धि गरेकोले यस्तो भएको हो । उनले भने ‘चनि हुदै फ्रान्स, उत्तरकोरियालगायत विश्वभर कोरोनाको प्रकोप फैलिदै गएकाले विश्वबजारमा नै २० प्रतिशतले मुल्य बृद्धी भएको छ ।’
सुनको मूल्य वृद्धि हुँदै गर्दा नेपालमा भने लगनको समय परेको छ । व्यवसाय बढ्ने समयमा पनि किन्नेहरुको संख्या घटेका छन् । गत वर्ष विहेको सिजन फागुनमा दैनिक ५० देखि ६० किलो सुन खपत हुने गर्थ्यो । तर, अहिले ८० प्रतिशत घटेर दैनिक २० किलो समेत खपत हुन छाडेको शाक्यले बताए ।
मुल्य बढ्नाले विहे तथा अन्य कामका लागि सुन लिने किन्न ग्राहकले स छाडेका छन । तर, केहि ग्राहकहरु भने अझै बढ्ने अनुमान गर्दै लगानीका लागि सुन किन्न थालेका छन् । अहिलेको बजार हेर्दा सुनको मुल्य अझ बढ्न सक्ने अनुमान रहेको सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मणिरत्न शाक्यले बताए ।
उनका अनुसार बजारमा सुनमा लगानी गर्ने लगानीकर्ता हावी भएका छन् । ‘यसअघि बजारमा सुनमा लगानी गर्ने सोचका ग्राहक कमै हुन्थे,’ उनले भने, ‘तर सुनको मूल्य बढेसँगै राम्रो फाइदा हुने आशमा लगानीकर्ता बढ्ने देखिएको छ ।’
नेपाली बजारमा अहिले सुन पर्याप्त मात्रामा छैन ।
बाराम्बार सुनको मुल्य बढ्नुका कारणहरु
सुनको मूल्यमा घटबढ गराउने पहिलो कारण डलरको मुल्य नै हो । डलरको मुल्य बढ्दा सुनको मूल्य पनि सोही अनुसार बढ्छ र बजारमा सुनको मूल्यमा वृद्धि हुन्छ ।
यस्तै, विश्वका ठूला राष्ट्रहरु विच हुने व्यापारीक द्वन्द्वले पनि सुनको मुल्यमा असर पर्छ । जस्तै, अमेरिका र चीनको व्यापारयुद्ध तथा अमेरिका र इरान विचको द्वन्द्वले सुनको मूल्य बढाएको थियो ।
यस्तै ठूला र विकसित देशका केन्द्रीय बैंकहरुले सुन होल्ड गरेर बसिदिँदा पनि मूल्य बढ्ने गरेको छ । बजारमा सुनका गरगहनाको माग बढ्दा पनि सुनको मूल्य वृद्धि हुने गरेको छ ।