काठमाडौं। लेखा उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई तत्कालै निलम्बन गरी हदैसम्मको कारबाही प्रक्रिया अगाडी बढाउन सरकारलाई सुझाव दिएको छ।
संसदको लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टचार भएको उजुरीमा अध्ययन गर्न बनाएको उपसमितिले बुझाएको प्रतिवेदनमा महानिर्देशक अधिकारी दोषी देखिएकोले आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाउन सुझावसहितको प्रतिवेदन बुझाएको हो।
लेखा समिति अन्तरगतको उपसमितिका सदस्य एवंम पूर्वपर्यटनमन्त्री प्रेम आलेले महानिर्देशक अधिकारीलाई निलम्बन गरी आवश्यक अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती सुद्धिकरणलाई बोधार्थ दिइएको जानकारी दिए।
‘स्थलगत अध्ययनको क्रममा महानिर्देशक अधिकारीको हजारौं गल्ती भेटिएको छ,’ पूर्व मन्त्री समेत रहेका सदस्य आलेले भने, ‘सरकारले तत्कालै निलम्बन गरी अनुसन्धानमा सहयोग पुर्याउनुपर्छ।’
विमानस्थल निर्माणकै क्रममा भएका त्रुटी र अनियमिताका कारण अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै उजुरी परेको थियो। विमानस्थल निर्माण सम्झौतादेखि सञ्चालनसम्मको अवस्थाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अध्ययन गरिरहेको छ।
लेखा समितिले विमानस्थल निर्माणको गुरुयोजना, व्यावसायिक योजना, लागत, आर्थिक अनियमितता, सञ्चालन गर्न नसक्नुका कारणदेखि आगामी दिनमा कसरी विमानस्थल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न २०८१ असारमा उपसमिति गठन गरेको थियो।
नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको सम्झौताअनुसार विमानस्थलको निर्माण त्रुटी भएको विषय उठ्दै आइरहेको छ।
सम्झौता हुँदाका बेला २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गर्ने बताइए पनि २८ अर्ब ऋण लगानी पुगेको छ। २१ मार्च २०१६ (८ चैत, २०७२) मा नेपाल–चीन सरकारबीच ऋण सम्झौता भएको विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले निर्माण गरेको हो।
२०७३ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थलको उद्धघाटन २०७९ पुस १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धघाटन गरेका थिए। विमानस्थल निर्माण गर्न पोखरामा २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ।
उपसमितिमा राजेन्द्र लिङ्देन संयोजक तोकिएको छ। यस्तै, सदस्यहरुमा जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन्।