काठमाडौं। दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क। रगविरङ्गका गुराँस फूलेर पार्क ढकमक्क भएको छ।
वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ। पछिल्लो समय यो स्थानमा पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन्। पार्कसम्मै सडक सञ्जाल जोडिएको छ।
यही रमणीय गुराँस पार्कको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले ‘जाऔँ है गुराँस पार्क’ अभियान सुरु गरिएको छ। बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटन मन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले नयाँ वर्षको दिन सोमबार गुराँस पार्कबाट अभियानको शुभारम्भ गरेका हुन्।
नयाँ वर्षमा घुम्न आएका भरिभराउ पर्यटकबीच आयोजित शुभारम्भ कार्यक्रममा सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रनिधि, काठमाडौं महानगर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, काठमाडौंबाट आएका पाहुना र स्थानीयको सहभागिता थियो।

जिरी नगरपालिका ४ का जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत न्यानो स्वागत गरेका थिए। गुराँसपार्क अवलोकनपछि सांसद श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना रहेको बताए।
‘यो जस्तो सुन्दर दृश्य भएको पर्यटकीय स्थल मैले विरलै देखेको छु। प्रत्येक नेपाली आएर घुम्नु पर्छ भन्ने मैले लिएको छु’, सांसद श्रेष्ठ भने। उनको पहलमा आर्थिक वर्ष २०८१/८१ गुराँसपार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो।
त्यस्तै, काठमाडौं महानगर ११ का वडाध्यक्ष तण्डुकारले गुराँसपार्क सौन्दर्यको दृष्टिकोणले उत्कृष्ट रहेको बताए। काठमाडौंबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँस पार्कलाई जिरीको मात्रै नभएर देशकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने प्रतिक्रिया दिएका थिए।

जिरीबाट १०.३ किलोमिटर दूरीमा रहेको गुराँस पार्क गाडीमार्फत् ४० मिनेटमा पुग्न सकिन्छ। जिरीका होटलमा बसेर गुराँसपार्क, चेर्दुङलगायतका सम्पदा घुम्न सकिने छ।