काठमाडौं। विभिन्न होटल व्यवस्थापन गर्दै आएको सोल्टी होटललाई नै नयाँ व्यवस्थापन आवश्यक परेको छ। देशभित्रका होटल मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाउन लागिरेको सोल्टी आफैले भने विदेशी ब्रान्डलाई आफ्नो व्यवस्थापन जिम्मा दिने भएको छ।
स्रोतका अनुसार, अन्तर्राष्ट्रिय व्यवस्थापन बाहिरिएको ४ वर्षपछि सोल्टी होटलले अमेरिकी ब्राण्ड मेरियट भित्र्याउने तयारी गरेको छ।
२५ वर्ष व्यवस्थापन सम्हालेको वेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिएपछि आक्रामक रुपमा आफ्नै ब्राण्डमा विभिन्न होटलको व्यवस्थापन सम्हालेको सोल्टीले मेरियट अन्तर्गतको अटोग्राफ कलेक्सन होटल ब्राण्ड भित्र्याउने भएको हो।
सोल्टी होटल स्रोतका अनुसार अबको केही समय भित्रै अटोग्राफबीच सम्झौता हुँदैछ। पछिल्लो समय नेपालमा विदेशी चेन होटलको दबदबा रहिरहेका बेला आफ्नै ब्राण्डमा व्यवस्थापन सुरु गरेको सोल्टीले अन्ततः चार वर्षपछि पुनः विदेशी व्यवस्थापन ल्याउन तयार भएको हो।
स्रोतका अनुसार सोल्टीले मेरियटकै ब्राण्डमा व्यवस्थापन ल्याउन कसरत गरेको थियो। तर, काठमाडौं मेरियट सञ्चालनमा रहिरहेका बेला सोही नाममा अर्को होटलको व्यवस्थापन गर्न नहुने भन्दै सोल्टीमा अटोग्राफ आउन तयार भएको हो। अटोग्राफ मेरियटको प्रिमियम ब्राण्ड हो।
अटोग्राफसँग कति वर्षको व्यवस्थापन सम्झौता गरिएको भन्ने बारे भने केही खुलाइएको छैन। ‘हामी सम्झौताको अन्तिम चरणमा छौं,’ सोल्टी होटलका एक सञ्चालकले भने, ‘केही साता भित्रै शुभ खवर सुनाउँछौं।’
करिब बाह्र एकड जग्गामा सुन्दर हरियाली बगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकनयुक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँचतारे होटलमा आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २ सय ८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइट रुमहरु होटलमा रहेको छ।
ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाडौं होटल विक्रम संवत २०२३ सालमा उदघाटन भई शुभारम्भ गरिएको थियो।
किन ल्याउन लागियो विदेशी व्यवस्थापन
आफैमा अब्बल व्यवस्थापका रुरुमा स्थापित गरिरहेको सोल्टीले किन आफ्नै व्यवस्थापन गर्न अर्को ग्रुप ल्याउन लाग्यो त भन्ने चर्चा समेत सुरु हुन थालेको छ।
खासगरी पछिल्लो समय विदेशी ब्राण्डहरुको दबदबा रहिरहेका बेला अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नकै लागि सोल्टीले अटोग्राफलाई ल्याउन बाध्य भएको ती सञ्चालकको दाबी छ।
‘स्थानीय स्तरमा हामी अब्बल छौैं,’ ती सञ्चालकले भने, ‘विदेशमा प्रचारका लागि अन्तर्राष्ट्रिय ब्राण्डनै आवश्यकता पर्ने रहेछ।’ हुन पनि पछिल्लो केहि वर्षयता नेपालमा २ दर्जन भन्दा बढी विदेशी चेन होटलहरुले व्यवस्थान सम्हालिरहेको छ भने त्यहि अनुसारमा नयाँ होटलहरु व्यवस्थापन गर्न भित्रिने तयारीमा थालेको छ।
होटल व्यवस्थापनमा छुट्टै कम्पनी बनाउने तयारी
पछिल्लो वर्ष आक्रामक रुपमा व्यवस्थापन सम्हाल्दै आएको सोल्टीले अव छुट्टै कम्पनी बनाएर अगाडी बढ्ने तयारी थालेको छ। एक दर्जनभन्दा बढी होटलहरु व्यवस्थापन सुरु गरिसकेको सोल्टीले सोल्टी ब्राण्डमै व्यवस्थापन कम्पनी निर्माण गर्ने आन्तरिक तयारी थालेको जनाएको छ। यदपी, यो विषयमा आधिकारीक धारणा सार्वजनिक भने गरिसकेको छैन।
सोल्टीको मूख्य होटललाई अटोग्राफले व्यवस्थापन गर्ने र अन्य होटल तथा रिसोर्टलाई सोल्टीको अर्को कम्पनीले व्यवस्थापन गर्ने गरी तयारी थालिएको श्रोतको दाबी छ।
हाल सोल्टीले नेपालगन्जमा सोल्टी सिब्क्रिम, इटहरीमा सोल्टी वेस्टर्न, चितवनमा सोल्टी वेस्टर्न, धनगडीमा सोल्टी वेस्टन, लुम्बनीमा सोल्टी वेस्टर्न, लुम्बिनी, वीरगन्जमा सोल्टी वेस्टर्न, पोखरामा सोल्टी वेस्टर्न, जनकपुरमा मिथिला यात्री, भैरहवामा टाइगर प्यालेसको व्यवस्थापन गरिरहेको छ।