काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा आर्थिक मन्दी आएको भन्दै चिन्ता प्रकट गरेका छन्। यसअघि उनले चैत्र १५ गते काठमाडौंँको तिनकुनेमा भएको आन्दोलनमा भएको जनधनको क्षतिमा दुःख व्यक्त गरे।
तिनकुनेमा भएको आन्दोलनबारे उनले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’
यस्तै, उनले बदलिँदो विश्व परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नु परिरहेको भन्दै आत्मनिर्भर हुने गरी काम गर्न आग्रह गरे।
‘विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ,’ उनले भने।
नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उनले स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको अर्थतन्त्र आत्मनिर्भर र चलायमान बनाउन सकिने बताए।
यस्तै, उनले युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने पहिलो आवश्यकता बनेको बताउँदै सोहीअनुसार काम गर्न आग्रह गरे।