काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ। बाजुराको त्रिवेणी नगरपालिका ६ स्थित किम्नी खोलामा ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू तीर्थराज थापामगर र खगेन्द्र साउदसहित त्रिवेणी नगरपालिकाका तत्कालीन इन्जिनियर नविन साउद र सबइन्जिनियर राजेन्द्र बहादुर विक,असिस्टेन्ट सब इन्जिनियर राजेन्द्र बहादुर साउद, किम्नी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध मुद्दा दायर गरेको हो।
पुल निर्माणमा अनियमितता गरेको भन्दै उजुरी परेपछि छानबिन हुँदा आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ मा किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा उत्खनन, ढुंगा सोलिङ, पीसीसी, स्टिल, स्टिल पाट्र्स र सिमेन्ट एलएस यातायातमा माटोको काम वास्तविक फिल्डमा भएको कामभन्दा नापी किताबमा बढी चढाएर भुक्तानी गरेको देखिएको अख्तियारको दाबी छ। उनीहरूले ४ लाख ३१ हजार ४८६ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको आरोप पत्रमा जनाइएको छ।
अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू थापामगर र साउदसँग क्रमशः २ लाख ६ हजार र २ लाख २४ हजार रुपैयाँ बिगो मागदाबी तथा तीन महिनादेखि १ वर्षसम्म कैद सजाय माग गरेको छ।
अन्य कर्मचारीको हकमा ४ लाख ३१ हजार ४८६ रुपैयाँ बिगो माग दाबी र १ वर्षसम्मको कैद माग गरेको छ। उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई २ वर्षसम्म कैद र बिगो जफतको माग गरिएको छ।