काठमाडौं। नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना गरी गर्दै आफ्नो उपदान र पेन्सन कोषमा गरेको ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने बताएको हो।
उक्त रकम राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। जसमा वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ। त्यसको लागि आगामी बैशाख ३ गते साँझ ७ बजेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने राष्ट्र बैंकले बताएकाे छ।
यसैगरी, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने लगायतका सर्त पूरा गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।