काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर अनावश्यक निर्णय गरेको बताएका छन्।
धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो सरकार सफल बनाउन आफूहरुले काम गरिरहेको बताउँदै सरकार भने अनावश्यक कामको पछि लागेको भन्दै आलोचना गरे।
'यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं। मेहनत पनि गरिरहेका छौं। परिणाम देउ भनिरहेका छौं। सरकारमा बसेका हाम्रा साथीहरुबाट देशभरि प्रशंसा गर्न पाउँ भनिरहेका छौं। कहिलेकाहीँ दुःख पनि लागिरहेको छ। चाहिने नचाहिने काम गर्दिनाले देशभरिका साथीहरुको बीचमा अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नु परेको छ,' उनले भने।
महामन्त्री थापाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई नगर्नुपर्ने कामको पछि नलाग्न अनुरोध गरेका छन्।
प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय लैजाने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै भएको बताउँदै उनले भने, ‘केही दिनअघि सरकारले एउटा निर्णय गर्यो। एउटा कर्मचारीको बारेमा, जुन निर्णय गर्ने पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरुले उत्तर दिँदै हिँड्नु परेको छ। त्यसैले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई हामी भनिरहेका छौं, गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर।’
उनले आफूले केही महिना स्वास्थ्य मन्त्रालय चलाउँदा गरेको कामबारे अहिले जहाँ पुगे पनि प्रशंसा पाइरहेको बताए।