काठमाडौं। देशमा भ्रष्टाचार भएर जनतामा तीव्र असन्तुष्टी बढ्दै गएको छ। दिनहुँ आन्दोलन बढ्दै गइरहेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताए।
गत २७ गते नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले देशमा भ्रष्टाचार भएको शंका लागेको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले भनेका थिए, ‘आज हामीलाई सुशासन चाहिएको छ। र, विकास चाहिएको छ। सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ। भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन। मलाई आशंका छ। भ्रष्टाचार फेरि पनि चलिरहेको छ। म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ।’
प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचार राक्न सबै संघसंस्थाले साथ दिनुपर्ने बताए। उनले भने, ‘यो रोक्न तपाईंहरूको सहयोग चाहिन्छ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारको शंका लागेको बताउँदै गर्दा उनमाथि गिरिबन्धु टि स्टेटको जग्गामा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। उनीविरुद्ध यो मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ।
यसअघि विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालले आफ्नो झिनो स्थान सुधार गरी व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको छ। नेपाल १०० मा ३४ अंक पाएर १०७ औँ स्थानमा परेको देखाएको हो।
गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो। विश्वभर एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ।