काठमाडौं। नेपालीहरुको नयाँ वर्ष २०८२ सुरु हुन अब केही घन्टा मात्र बाँकी छ। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँलाई स्वागत गर्ने क्रममा धेरै नेपालीले नयाँ सामान जोड्ने परम्परा पनि छ। त्यही परम्परालाई ध्यानमा राखेर अटो व्यवसायीले ग्राहक लक्षित उपहार योजना सार्वजनिक गरेका छन्।
नेपाली नयाँ वर्ष २०८२ आउन लाग्दा अटो व्यावसायी गाडी बिक्री गर्ने माहोल बनाउन विशेष छुटसहितका अफर सार्वजनिक गरेका हुन्।
हुन त, हरेक वर्ष अटो व्यवसायीले चाडपर्व र यस्तो नयाँ वर्षको समयमा विभिन्न अफर ल्याउने गरेका छन्। सामान्य दिनमा भन्दा यस्ता अफर लागेको समयमा गाडी खरिद गर्दा सस्तो पर्ने भएकाले ग्राहक पनि यहि मौकाको पखाईमा हुन्छन्। सो अवसरमा ग्राहकलाई आफ्नो ब्रान्डतर्फ आकर्षित गर्न अटो ब्रान्डहरुले विभिन्न आकर्षण योजना दिँदै आएका हुन्।
नयाँ वर्ष नकिएसँगै अधिकांश ब्रान्डले आफ्नो नयाँ वर्ष अफर घोषणा गरिसकेका छन्। बजारमा धेरै ब्रान्डको उपस्थिति रहेकाले पनि अटो व्यवसायीहरुले वर्षैविच्छे कार, बाइक तथा स्कुटरको बिक्री बढाउन योजना ल्याउनै पर्ने अवस्था बनेको छ। अर्थात्, अफर नल्याएको खण्डमा ग्राहक अर्कोतर्फ आकर्षित हुने सम्भावना बढ्छ। यसैले पनि सबैजसो ब्रान्डले नयाँ वर्ष अफर ल्याएका हुन्।
चाडपर्व तथा यस्तै समयमा अफर आउने तथा ग्राहक पनि गाडी खरिदमा व्यस्त हुने हुन्छन्। सोही कारण नयाँ वर्ष जस्ता उत्सवहरुमा अटो बजारमा पनि निकै चलायमान देखिने गरेको छ। चाडपर्वको समय विभिन्न अफर ल्याएर बिक्री बढाउने योजनाअनुरुप कम्पनीले सवारीसाधन खरिदमा फ्री सर्भिस, सहज फाइनान्स सुविधा, एक्सचेन्जलगायत अफर ल्याउने गरेका छन्। सोहीक्रमले यस नयाँ वर्षमा पनि निरन्तरता पाएको छ।
अटो ब्रान्डका गत वर्ष र यस वर्षको नयाँ वर्ष अफर
हुन्डाई
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा ‘यो नयाँ वर्ष, चुज योर ’युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको छ। उक्त अफरबाट इलेक्ट्रिक र आईसीई दुवै सवारीसाधन खरिद गर्ने ग्राहकले लाभ लिनसक्ने कम्पनीले जनाएको छ।
नयाँ अफरअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको निःशुल्क बिमा, चालु आर्थिक वर्षको सडक कर छुट, स्वामित्व हस्तान्तरण र अन–द–स्पट भेइकल भ्यालुएसन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ। साथै, हुन्डाईका ईभी गाडीहरू ८ वर्षको हाइ–भोल्टेज ब्याट्री वारेन्टी र दुई वर्षको कम्पोनेन्ट वारेन्टीसहित आउने कम्पनीले जनाएको छ।
गत नयाँ वर्षमा भने लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिएको थियो। साथै, ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा, हुन्डाई गाडीमा तीन वर्षे वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ तथा इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्षे वारेन्टी कम्पनीले दिइएको थियो।
टाटा
नेपालको लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नया वर्ष २०८२ लाई लक्षित गरी एक्सचेञ्ज उत्सव घोषणा गरेको छ। कम्पनीले नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सवमा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ ईभी खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सक्ने जनाएको छ। आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) एवं निःशुल्क एभिटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन्।
गत नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै सिप्रदीले ‘नयाँ वर्ष, नयाँ कार २०८१’ योजना ल्याएको थियो। जुन अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र निःशुल्क फास्ट चार्जर प्राप्त गरेका थिए।
नामी
नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ वर्ष २०८२ लाई लक्षित गरी न्यु इयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ। यो अफर अन्तर्गत नामी गाडी खरिद गर्ने ग्राहकले ८० प्रतिशत फाइनान्सिङको सुविधा पाउनेछन्। साथै ६ लाख रुपैयाँ डाउनपेमेन्ट गरे पुग्ने कम्पनीले जनाएको छ। नामी यसै वर्ष नेपाल भित्रिएको नयाँ ब्रान्ड भएकाले कम्पनीले नयाँ वर्ष लक्षित गरी दिइएको यो पहिलो स्किम हो।
जिकर गाडी २० प्रतिशत डाउन पेमेन्टमा पाउने नयाँ वर्ष अफर
नयाँ वर्षका लागि जिकर गाडी २० प्रतिशत डाउन पेमेन्टमा किन्ने अफर ल्याइएको छ। जिकर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ८.०५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको अफर ल्याएको हो।
बीएडब्लु ब्रम्बीमा ३ लाख नगद छुट
नेपालका लागि बीएडब्लु गाडीको आधिकारिक वितरक एलआरआर ग्रुपले नयाँ वर्ष २०८२ लाई लक्षित ब्रम्बीमा विशेष अफर ल्याएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा दुई लाख ९१ हजार नगद छुट दिने जनाएको छ।
यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री थालिएको कम्पनीले जनाएको छ। ब्रम्बी गत नाडा अटो शो २०२४ मा नेपाल भित्रिएकाले कम्पनीले ब्रम्बीमा दिएको यो पहिलो अफर हो।
दुई पांग्रे सवारीमा नयाँ वर्ष अफर
दुई पांग्रे सवारी बिक्री गर्ने कम्पनीहरुले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै विभिन्न अफरहरु सार्वजनिक गरिरहेका छन्।
इन्धन तथा ईभीका विभिन्न ब्रान्डहरुले आफ्नो ब्रान्डका व्यवसाय बढाउन धमाधम अफरहरु सार्वजनिक गरिरहेका हुन्
सुनरा स्कुटर अफर
नेपालमा इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा ‘सुपर सेभ अफर’ नामक अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले सुनराका विभिन्न स्कुटर मोडेलमा ६० हजारसम्मको छुट पाउने छन्। सुनरा के फाइभ मोडेल १ लाख, ६९ हजार ९०० मा, रोबो–एस ३ लाख २० हजार ९०० मा र एचडब्लुएके २ लाख ३६ हजार ९०० मा उपलब्ध छन्। साथै, प्रत्येक स्कुटरमा निःशुल्क बिमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने जनाएको छ।
बेनेली
नेपालको लागि बेनेली बाइकको आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्षित गरी बेनेली बाइक खरिदमा २५ हजार नगद छुट पाउने अफर ल्याएको छ। साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बिमा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
गत नयाँ वर्षमा २०८१ लाई लक्षित गरी विषेश फाईनान्स योजना ल्याएको थियो। जसअन्तर्गत १८० सीसी बाइक तथा स्कुटर ० प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न पाउने सुविधा ल्याएको थियो। अन्य मोडलहरुका बाईकमा मोडल हेरि हेरि १५ हजारदेखी एक लाखसम्मको छुट दिइएको थियो।
बजाज
नेपालका लागि बजाज बाइक तथा स्कुटरको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘मिटर रोक्नुस क्यास जित्नुस अफर ल्याएको छ। यस अफरअन्तर्गत बजाजका बाइक खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद जित्न सक्नेछन्।
गत नयाँ वर्ष २०८१ मा ‘बजाज नव आरम्भ’ अफर ल्याएको थियो। जसअन्तर्गत बजाजका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकले नयाँ वर्ष २०८१ मा स्योरसट डिस्काउन्ट पाएका थिए। हरेक हप्ता १ लाख रुपैयाँ सम्म जित्ने मौका अफर ल्याएको थियो। बजाज मोटरसाइकल किन्ने ग्राहकले मोडल अनुसार शुरुमा मूल्यको ३० प्रतिशत मात्र रकम डाउन पेमेन्टको रुपमा बुझाउन र बाँकी रकम ३६ महिना सम्म किस्ताबन्दीको रुपमा दिइएको थियो।
हिरोको अफर
नेपालका लागि हिरो बाइकको आधिकारिक वितरक सिजी मोटर्सले ‘नयाँ वर्ष नयाँ हिरो’ योजना ल्याएको छ।
कम्पनीले हिरोको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि ७ हजार नगद छुट तथा साप्ताहिक रुपमा लक्की ड्रमार्फत २५ हजार नगद र सजिलो फाइनान्सिङ सुविधा ल्याएको छ।
सुजुकी अफर
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०८२ का लागि ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ ट्यागलाईनसहित अफर सार्वजनिक गरेको छ।
उक्त अफर अन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखी १ लाख रुपैयाँसम्म नगद जित्न सकिने अफर ल्याएको हो। साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्च गर्न समेत सक्नेछन्।
गत वर्ष भने ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नामक योजना अन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट दिइएको थियो।
यस्तै, थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको थियो। सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा उपलब्ध गराएको थियो।
यामाहा अफर
यामाहाका बाइकमा १ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याइएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ल्याएको नयाँ वर्ष अफरमा ग्राहकले १ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्ने सक्नेछन्।
यस्तै शुन्य प्रतिशत ब्याजदरमा बाइक खरिद गर्न सकिनेछ। अन द स्पट एक्सचेन्ज अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
जिहो स्कुटर
नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ साललाई लक्षित गर्दै जिहो ईभी स्कुटरमा अफर ल्याएको छ।
नयाँ जिहो खरिद गर्ने ग्राहकहरुलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका ग्राहकले समेत आफ्ना साथीभाइ र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने कम्पनीले जनाएको छ। साथै, नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले २० हजार नगद छुट पाउनेछन्।