काठमाडौं। चैत १५ को राजसंस्था पुनःस्थापना आन्दोलनमा हिंसा मच्याएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले भारतको आसाम हुँदै झापा त्यसपछि जहाजमार्फत काठमाडाैं ल्याइएको छ।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजकसमेत प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई पनि भद्रपुरबाटै विमानमार्फत काठमाडौं ल्याएको हो।
प्रसाईंलाई बुद्ध एयरको जहाजमा राखेर भद्रपुरबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरीले पुष्टि गरेको छ।
उनलाई आज बिहान १० बजेर ७ मिनेटमा सीमा क्षेत्र काँकडभिट्टा हुँदै नेपाल भित्र्याइएको थियो। यसअघि प्रसाईंको सचिवालयले उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएको थियो।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितलाई सीमा क्षेत्रमा ल्याएर छाड्ने र त्यसपछि सम्बन्धित देशको प्रहरीले जिम्मा लिने प्रावधान छ।

दुवै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताएका छन्।
चैत १५ को तीनकुनेमा हिंसामा मुख्य भूमिका खेलेकाले प्रसाईंमाथि राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइनेछ।
प्रसाईंलाई हतकडीसहित प्रहरीले जहाजबाट काठमाडौं ल्याएको हो।
प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएको थियो। जहाजभित्र भने हतकडी खोलिएको थियो। कालो चस्मा र पहेंलो ह्याटमा सजिएका प्रसाईंले जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको भिडिओ सार्वजनिक भएको छ।