काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा चेम्बरले विभिन्न उद्योग, व्यवसायमा सक्रिय उद्यमी, व्यवसायीलाई सम्मान गरेको छ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्नुपर्ने बताए। स्थानीय उत्पादनको प्रवर्द्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ।
अध्यक्ष अग्रवालले भने, ‘अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न सकिए भने स्थानीय उत्पादनको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं एकद्वार प्रणालीमार्फत गुणस्तर मापन गर्न सकिन्छ।’ रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्र्नुपर्ने अध्यक्ष अग्रवालले बताए।
मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ। आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनको लागि पनि आन्तरिक उत्पादन अनिवार्य रहेको अध्यक्ष अग्रवालले बताए।
तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेकामा अग्रवालले जोड दिए। अध्यक्ष अग्रवालले भने, ‘युवालाई स्वेदशमै रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना बनाइनुपर्दछ। रोजगारीका लागि बिदेसिएका युवाहरु स्वदेश फर्किने क्रममा अध्यागमनमा तिनको सीप र ज्ञानको लगत संकलन गरी स्वदेशकै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनुपर्दछ।’
नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत् उत्पादन क्षेत्रमा अझै पनि नीतिगत चुनौती देखापरेको अध्यक्ष अग्रवालले बताए।धितोपत्र बोर्डले झन्डै ५० जलविद्युत् कम्पनीको प्राथमिक सेयर निष्कासन आईपीओ रोकेर राखिदिएको भन्दै अध्यक्ष अग्रवालले निर्माणाधीन आयोजनामा आईपीओ जारी हुन नसकेपछि आयोजना निर्माणमा वित्तीय अवरोध सिर्जना भएको औंल्याए।
जग्गाको हदबन्दीले गर्दा ठूला औद्योगिक एवं व्यावसायिक वातावरणमा ठूलो अवरोध सृजना गरेको अध्यक्ष अग्रवालको भनाइ छ।
सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायी पीडित भएको भन्दै उहाँले सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान गरिनुपर्ने बताए।
कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक कृषकले पाउने गरी पारदर्शी व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए। चेम्बरको ७४औं वार्षिक साधारणसभामा विभिन्न व्यवसायी तथा चेम्बरका भ्रातृ संस्थाहरु सम्मानित भएका छन्।
चेम्बरले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट आईजे ग्रुपका रविभक्त श्रेष्ठ, पर्यटनतर्फ बनवारीलाल मित्तल र राइका ट्राभल एन्ड टुर्सका अध्यक्ष अमरबहादुर शाहीलाई मेमोरियल अवार्ड, राजबहादुर चिपालुलाई मेमोरियल अवार्ड (कृषितर्फ) बाट सम्मानित गरेको छ।
यस्तै, स्याङ्जा अर्जुनचौपारी गाउँपालिकास्थित त्रिपुत्र बागवानी फर्मका प्रोप्राइटर फणिनारायण अर्याल पनि सोही अवार्डबाट सम्मानित भएका छन्।
चेम्बरका अनुसार इन्द्रभक्त मेमोरियल अवार्ड (उद्योगतर्फ)बाट त्रिवेणी ग्रुपका अध्यक्ष पुुरुषोत्तमलाल संघाई÷सुवास संघाई सम्मानित भएका छन्।
यस्तै, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड (सामाजिक सेवातर्फ)बाट चितवन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड (महिला उद्यमी तथा नवप्रवर्तनतर्फ)बाट जिरो सर्कुलर कन्ट्याक्ट पर्सन अनिमा पिया सम्मानित भएका छन्।
बिहारीलाल खेतान मेमोरियल अवार्ड (ट्रेड लजिस्टिक्सतर्फ)बाट कुमार दाहाल, अध्यक्ष सांग्रिला अर्गनाइजेसन, जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड (व्यापारतर्फ)बाट घनश्याम काबरा क्वालिटी आयल रिफाइनरी प्रालि विराटनगर, सम्मानित भएका छन्।
प्रदेश, जिल्ला तथा नगरतर्फ टंकप्रसाद पोखरेल, सभापति लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स, विनोद मल्ल, सभापति सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कालिका चेम्बर अफ कमर्सका प्रमोद अधिकार, देवदह चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सभापति कोषबहादुर गुरुङ सम्मानित भएको चेम्बरले जनाएको छ।