काठमाडौं। आईएमई ग्रुपले सञ्चालनको तयारीमा रहेको साउथ एसियन ब्रुअरीको बहुमत सेयर किनेको छ। लामो समयदेखि लाइसेन्स लिएर उत्पादन सुरु हुन नसकेको उद्योगको ८० प्रतिशत सेयर स्वामित्व लिएर ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पहिलो पटक वियर उद्योगमा लगानी विस्तार गरेका हुन्।
हेटौँडा मुख्य कार्यालय रहेको साउथ एसियन ब्रुअरी नेपाल ग्यासका प्रबन्ध निर्देशक गोकुल भण्डारीको हो। योसँगै भण्डारीको नाममा २० प्रतिशत मात्र सेयर स्वामित्व रहेको छ। १ अर्ब ५० करोड रुपैयाँ लगानी गरी सञ्चालन गर्ने तयारीका साथ अगाडि बढेको उद्योगले २०७३ सालमै हेटौँडामा एक सय ५ रोपनी जग्गा लिएर राखेको छ। ढकालले आईएमई ग्रुपमार्फत बैंक तथा वित्तीय संस्था, केबलकार, होटल र कागज उद्योगमा लगानी विस्तार गरिसकेका छन्।
लाइसेन्स नवीकरणलगत्तै उद्योग सञ्चालन गर्ने
लामो समयसम्म उत्पादन सुरु नगरेपछि साउथ एसिएन ब्रुअरीको लाइसेन्स नवीकरण हुन सकेको छैन। लाइसेन्स लिने तर उत्पादन सुरु नभएका उद्योगहरुले नवीकरण गर्नका लागि मन्त्री स्तरीय निर्णय आवश्यक हुन्छ।
त्यसका लागि उद्योग मन्त्रालयअन्तर्गत रहेको औद्योगिक प्रर्वद्धन बोर्डले निर्णय गर्नुपर्छ। औद्योगिक प्रवद्र्धन बोर्डको अध्यक्ष उद्योग मन्त्री र सदस्य सचिवमा उद्योग विभागका महानिर्देशक रहँदै आएका छन्।
उद्योग श्रोतका अनुसार अहिले साउथ एसिएन ब्रुअरीले लाइसेन्स नवीकरणका लागि विभागमा निवेदन दिएको छ। निवेदनमा लाइसेन्स नवीकरण भएलगत्तै उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
ब्रुअरीले आफ्नो बहुमत सेयर ढकाललाई दिएर साझेदारका रुपमा ल्याएर सरकारले अनुमति दिएलगत्तै उद्योग सञ्चालन गर्ने प्रतिबद्धतासमेत निवेदन दिएका छन्। श्रोतका अनुसार अब बस्ने प्रवर्द्धन बोर्डको बैठकमा साउथ एसियन ब्रुअरीको लाइसेन्स नवीकरण गर्ने प्रस्ताव पठाउने तयारी गरिएको छ।
केही समयअघि आएको अध्यादेशमा पनि सञ्चालनमा नआएका उद्योगले माग गरेमा लाइसेन्स नवीकरण गरी सहजीकरण गर्न सक्ने उल्लेख भएकाले पनि साउथ एसियन ब्रुअरीले सहजै रुपमा लाइसेन्स नवीकरण हुने अपेक्षा राखेर निवेदन दिएको हुन सक्ने जनाएको छ।
पछिल्लो समय नेपालमा मदिरा उद्योगको लाइसेन्स वितरणमा रोक लगाइरहेको बेला आईएमई ग्रुपका अध्यक्ष ढकालले भण्डारीसँग सहकार्य गरेर नयाँ वियर उद्योग सञ्चालन गर्न लागेका हुन्।