काठमाडौं। एमजी एस-५ बुटवल र भैरहवामा एक साथ सार्वजनिक भएको छ। पारामाउन्ट मोटर्सको डिलरको रुपमा काम गर्दै आएको बरुण मोटर्सले बुटवल र थ्री एचएल कम्पनीले भैरहवामा एमजी एस-५ सार्वजनिक गरी बिक्री सुरु गरेका हुन्।
यी दुवै डिलरहरूले काठमाडौंमा बुकिङ खुला भएसँगै ठूलो परिमाणमा बुकिङ लिएको र गाडी लन्चिङसँगै डेलिभरी सुरु गरेको एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ।
एमजी जेडएस ईभीको विकल्पमा बजारमा आएको एमजी एस-५ नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यमा किन्न पाइने कम्प्याक्ट एसयूभी हो। कम्पनीले ४३ लाख ९९ हजार सुरुवाती मूल्य राखेर एस-५ बिक्री सुरु गरेको थियो। एस-५ दुई ब्याट्री अप्सनमा उपलब्ध छ।
यसमा ४९ र ६२ किलोवाट आवरका दुई फरक ब्याट्री पाउन सकिन्छ। एमजी एस-५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ। यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ।
एस-५ को ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सानो ४९ किलोवाट आवरको ब्याट्रीमा दुई भेरियन्ट पाउन सकिन्छ। जसमा इन्ट्री भेरियन्टमा सनरुफ, लेदर सिट लगायतका फिचर छैनन्। यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ।
एमजी एस-५ को ग्राउण्ड क्लियरेन्स १८० एमएम छ। कम्पनीले एस-५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ। ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ।
चार्जिङ क्षमताको आधारमा एस-५ राम्रो देखिएको छ। यसमा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरको सहायताले चार्ज गर्दा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २६ मिनेट लाग्ने छ भने ठूलो ब्याट्री २१ मिनेटमै ३० बाट ८० प्रतिशत चार्ज हुनेछ।
यसको ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ।