काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको दाबी गरेका छन्। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै उनले पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताए।
'विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो। अरु सबै व्याकरणमा पाणिनिको सूत्रलाई आधार मानिएको छ,' उनले भने, 'पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै संगीत र लयको विकास भएको हो।'
प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसै क्रममा सम्मेलन उद्घाटन गर्न आएको बताएका थिए।
दुईदिने सो सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेका थिए।
लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो।