काठमाडौं। बिजनेसविहीन गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः नियमित गर्न माग गर्दै रुपन्देहीमा क्रियाशील ९ वटा उद्योग, व्यापार संगठनमा आबद्ध संस्थाले आन्दोलन घोषणा गरेका छन्।
आज सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थ सन्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीसहितका संघ–संस्थाले भैरहवामा पत्रकार सम्मेलन गर्दै विमानस्थलमा नियमित उडान माग्दै आन्दोलन घोषणा गरेका हुन्।
पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने र सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने निर्णय भएको छ।
सिद्धार्थ सन्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीका अनुसार सम्पूर्ण संघसंस्था, राजनीतिक दल, सर्वसाधारण, जनप्रतिनिधिलगायत उपस्थिति भई विमानस्थल अगाडि शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखलाई अल्टिमेटम दिने कार्यक्रम तय भएको छ।
विमानस्थलबाट नियमित उडानको माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गरिने पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए।
