काठमाडौं। चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ।
सङ्घीय सरकारको एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो।
बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी– अर्थुङ्गे–तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ।
गत पुस १९ गते दुई करोड ९ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। बेनी नगरपालिकाको अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक, कर्मचारी सहभागी टोलीले मंगलबार आयोजनाको अनुगमन गरेको थियो।
“निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिका लागि संरचना निर्माण गरेको छ”, उपप्रमुख लामिछानेले भनिन्, “सडक र नालीमा ढलान उपकरणको सहायताले गरिएको हो। यसको नमुना परिक्षण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम भएको पाएका छौँ ।”
पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रकम बराबरको थप काम गर्न हालै ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिएकी छन्।
उक्त आयोजनामार्फत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा ९ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान लगाउनेलगायत काम भएको नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिए। उनका अनुसार ढलान, नाली, ग्याबियन जाली भर्ने, पलम र मेसिनरी पर्खाल निर्माण भएपछि सडक यात्रा सहज र सुरक्षित भएको छ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर परिचालन गर्नुका साथै आवश्यकता अनुसार उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि काम सम्पन्न गरेको इञ्जिनियर गौतमले उल्लेख गरे।