काठमाडौं। सिष्टमबाटै कारोबार नदेखाउने र कर छल्ने नियतले रेष्टुरेण्टहरूले कोटेसन बिल मात्रै जारी गरिरहेका छन्। पछिल्लो केही दिनयता काठमाडौंमा सञ्चालित रेष्टुरेन्ट तथा होटलले ग्राहकलाई कोटेसन बिल थमाउने गरेका छन्।
सञ्चालकले सिष्टमबाटै निकाले पनि कोटेसन बिल मात्रै प्रिन्ट गरेर ग्राहकलाई दिन्छन्। सचेत ग्राहकले मूल्य अभिवृद्धि कर (भ्याट) बिल मागेको अवस्थामा मात्रै काउण्टरमा बसेका व्यक्तिले भ्याट बिल दिने गरेको ग्राहकको भनाइ छ।
‘हजारौँको बिल आउँछ। तर, बिलको माथि कोटेसन मात्रै लेखिएको हुन्छ। ग्राहकले बिल जारी गर्ने काउण्टरवालासँग प्यान वा भ्याट बिल दिनुस्, भनेर अनुरोध नगर्दासम्म बिल नै दिँदैनन्,’ काठमाडौंका एक होटलमा खान पुगेका ग्राहक राधाकृष्ण रिमालले भने, ‘भ्याट बिल पाउन ग्राहकले संघर्ष गर्नुपर्छ। सुरुमै कोटेसन बिल लिएर आउँछन्। भ्याट बिल दिनुन भनेर माग्दा पहिले पेमेन्ट गर्नुस्, अनि भ्याट बिल पनि ल्याउँछु भन्छन्, तर ल्याउँदैनन्।’
एकातिर राजस्व संकलन गर्न नसकेर सरकार समस्यामा परिरहेको छ। अर्कोतिर कोटेसन बिल जारी गरेर राजस्व चुहावट गर्ने कार्यले तीव्रता पाइरहेको छ।
ग्राहकले जबरजस्ती बिल माग्न खोजे भने सफ्टवेयरले अहिले काम गरेन भन्दै ग्राहकलाई सक्कली बिल नदिई पठाउने गरेका छन्। ग्राहकले भ्याट बिल नलिई जान्न भनेर जोड गरेपछि रेष्टुरेण्ट सञ्चालकले बिल जारी गर्ने रिमाल बताउँछन्।

अहिले अधिकांश रेष्टुरेण्ट तथा होटलले सिष्टमबाटै नक्कली बिल जारी गरिरहेका छन्। दैनिक लाखौँको कारोबार गर्ने रेष्टुरेण्टले कोटेसन बिलमा कारोबार गरिरहेका छन्। अहिले कुनै पनि रेष्टरेण्ट तथा होटल व्यवसायीले स्वस्फूर्त रुपमा भ्याट बिल जारी गर्दैनन्।
एकातिर राजस्व संकलन गर्न नसकेर सरकार समस्यामा परिरहेको छ। अर्कोतिर कोटेसन बिल जारी गरेर राजस्व चुहावट गर्ने कार्यले तीव्रता पाइरहेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले होटल तथा रेष्टुरेण्टमाथि अनुगमन गर्ने बताए। ‘पछिल्ला केही दिनयता रेष्टुरेण्टले कोटेसन बिलमार्फत कारोबार गरिरहेको सुनिएको छ,’ दाहालले भने, ‘हामी रेष्टुरेण्टमाथि अनुगमन गर्छौं।’
उनका अनुसार साना तथा ठूला होटलले भ्याट बिल बिनै कारोबार गरिरहेका छन् भन्ने गुनासो आइरहेको र कर्मचारीले अनुगमन गर्छन।