काठमाडौं। अटोमोबाइल व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसमक्ष आग्रह गरेका छन्।
आज नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो डायलग’ कार्यक्रममा सहभागी अर्थमन्त्री पौडेलसमक्ष व्यवसायीले आगामी बजेटमा अटो क्षेत्र प्राथमिकतामा पर्नुपर्ने माग राखेका हुन्।
पछिल्लो समय सरकारकै कारण व्यवसायमा चुनौती थपिएकाले अटो क्षेत्रका विद्यमान समस्या सुल्झाउन सरकारबाट विशेष ध्यान दिइनुपर्ने माग उनीहरुको छ।
कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्र गाडी किनबेच गर्ने व्यापार मात्रै नभएर रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग जोडिएको हुँदा सरकारले प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
‘सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन, देश समृद्धितर्फ जान सक्दैन। मोबिलिटीले देशका हरेक क्षेत्रलाई जोड्ने हुँदा सरकारले यसको महत्त्व बुझ्नुपर्छ। हामी आफैंलाई अब केबल ट्रेडर नभई उद्योगीका रूपमा देख्न चाहन्छौं,’ उनले भने।
अध्यक्ष चौधरीले विद्युतीय सवारी (ईभी) खरिदमा दिइने कर्जा सीमा घटाइँदा व्यवसायमा गिरावट आउन थालेको बताए। राष्ट्र बैंकले केही समयअघि जारी गरेको मौद्रिक नीतिमा विद्युतीय सवारीमा लोन सीमा अर्थात् ’लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका सवालमा सरकारका सुझाव संकलनको क्रममा रहेको जानकारी दिए। निजी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने र अटो व्यवसायीका माग सम्बोधनमा सकारात्मक रहेको अर्थमन्त्रीले बताए बताए।
‘अब अटो क्षेत्र आयातमै सीमित छैन। सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको छ। यसलाई सकारात्मक मानिनुपर्छ। सरकारले व्व्यवसायीका माग सम्बोधनका लागि पहल गर्छ,’ अर्थमन्त्री पौडेलले भने। राष्ट्र बैंकबाट कायम अटो ऋण सीमाबारे दुई निकायबीच समन्वय आवश्यक रहेकाे अर्थमन्त्रीको भनाइ छ।